‘सरकारको काम प्रभावकारी तुल्याउन’ कुवेतका प्रधानमन्त्रीद्वारा राजीनामा

‘सरकारको काम प्रभावकारी तुल्याउन’ कुवेतका प्रधानमन्त्रीद्वारा राजीनामा


कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले राजीनामा गरेका छन् । सरकारका कार्यलाई थप प्रभावकारी बनाउनका लागि आफूले मार्गप्रशस्त गरेको तर्कका साथ उनले कुवेती अमिरसमक्ष राजीनामा गरेका सिन्ह्वाले जनाएको छ ।

तथापि, कुवेती सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गरेको वक्तव्यमा चाहिँ ‘प्रधानमन्त्रीले आफ्नो राजीनामाको कारण खुलाउनु भएको छैन’ भन्ने व्यहोरा उल्लेख गरेका छन् ।

सत्तारुढ सांसदहरूले संसद्मा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्री अल–सबाहले राजीनामा दिएका हुन् ।

ज्ञातव्य छ, खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद् पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद् गठन भएको दुई वर्ष पनि पुगेको छैन ।