‘सामान्तवादविरुद्ध लडियो, पार्टीभित्र गुलामी गरिन्नँ’ : मन्त्री मात्रिका

‘सामान्तवादविरुद्ध लडियो, पार्टीभित्र गुलामी गरिन्नँ’ : मन्त्री मात्रिका


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले सामान्तवाद र जमिन्दारविरुद्ध लड्ने कम्युनिष्टहरुले पार्टीभित्र गुलामी नगर्ने बताएका छन् ।

सप्तरीको कञ्चनरुप नगरपालिकाको कञ्चनपुर बजारमा आयोजित ‘सामा चकेवा महोत्सव’को समापन समारोहमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् ।

केही नेताको तानाशाही र हैकमवादी प्रवृत्तिका कारण प्रदेश २ का केही जिल्लामा नेकपाभित्र विवाद देखिएको खुलासा पनि उनले गरे ।

‘जग हँसाउने कार्यले पार्टी मजबुत हुन सक्दैन’, उनले भने– ‘आफुले भनेको मात्र ठिक, अरु सबै बेठिक भन्ने अहंकार त्याग्न जरुरी छ ।’

नेकपाको स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री यादवले पार्टी कार्यकर्ताले पनि कुनै नेताको लप्पनछप्पनमा पर्नु आवश्यक नरहेकोमा जोड दिँदै आफ्नो विवेक र विधिविधानलाई स्मरण गरी काम गर्न आग्रह गरे ।

‘नेताले रातलाई दिन र दिनलाई रात भने पनि समर्थन गर्नुपर्ने अब जरुरी छैन’ उनले भने– ‘अव पार्टीका नेता कार्यकर्ताले जीहुजुरी गर्दैन ।

मंन्त्री यादवले राष्ट्रिय सुरक्षा र स्वाभिमानका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्नेमा समेत जोड दिएका छन् ।

भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक लगायतका भुभाग भारतमा मिसाएको विषयतर्फ संकेत गर्दै उनले भने– ‘राष्ट्रिय सुरक्षा, स्वाधिनता र स्वाभिमानका लागि दलगत भावना त्याग्दै सबै नेपाली एकै ठाउँमा उभिनुपर्ने आजको आवश्यक्ता हो ।’