अन्तर्राष्ट्रिय च्यालेञ्जमा निराशाजनक प्रदर्शन

अन्तर्राष्ट्रिय च्यालेञ्जमा निराशाजनक प्रदर्शन


नेपाल ब्याडमिन्टन संघको आयोजना तथा एशिया ब्याडमिन्टन महासंघको तत्वावधानमा संचालित योनेक्स सनराईज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज २०१९ आरम्भ भएको छ । प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले गरेका थिए । सो अवसरमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

नेपाल ब्याडमिन्टन संघको आयोजनमा पहिलो पटक संचालन भएको योनेक्स सनराईज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्जमा दिपेश धामी र बिष्णु कटुवालले विजयी सुरुवात गरेका छन् । तर, अपेक्षाविपरीत नेपाल नम्बर एक खेलाडी रत्नजित तामाङ भने पराजित हुन पुगे । तामाङ थाइइल्याण्डका अदुईराच नामकुलसँग सोझो सेटमा पराजित भए ।

त्यस्तैै, नवीन श्रेष्ठले भने प्रतिद्वन्द्वीबाट वाकओभर प्राप्त गर्दै दोश्रो चरणमा प्रवेश गरेका छन् । नवीनले भारतका अभिषेक यालगारबाट वाकओभर पाएका थिए ।

नेपालका उदीयमान खेलाडी प्रिन्स दाहालले पनि नेपालीहरूको विश्वास कायम राख्न असफल भए । दुबई अन्तर्राष्ट्रिय सेरिज र हालै मालदिभ्समा सम्पन्न जुनियर च्याम्पियनसीपमा उत्कृष्ट प्रदर्शनका साथ पदक हात पार्न सफल दाहाल च्यालेञ्जमा दोश्रो बरियता प्राप्त रसियाका सर्जी सिरान्तसँग २१–१७, २१–१२ को पराजित भए ।

त्यस्तै महिलातर्फ पनि नेपाली खेलाडीहरुको प्रदर्शन निराशाजनक रह्यो । १३औँ दक्षिण एशियाली खेलकुदका लागि तयारीमा रहेको खेलाडीहरु विदेशी खेलाडीका सामु टिक्न सकेनन् । सबै खेलाडीहरू सोझो सेटमा पराजित भए ।

२५ हजार डलर पुरस्कार राशी रहेको च्यालेञ्जमा पुरुष तथा महिला एकल र युगल तथा मिश्रीत युगल गरी कुल ५ विधामा नेपाल लगायत २१ राष्ट्रका १४९ खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।