निजामती कर्मचारीको अवकाश उमेरहद अब ६० वर्ष

निजामती कर्मचारीको अवकाश उमेरहद अब ६० वर्ष


निजामती सेवाका कर्मचारीको अवकाश हुने उमेरहद ६० वर्ष कायम गरिएको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निजामती कर्मचारीको उमेरहद ६० वर्ष राख्ने निर्णय गरेको हो ।

समितिमा संघीय निजामती सेवा ऐनको विधेयकमा यो प्रावधान राख्ने निर्णय भएपछि उमेर हदको विवाद टुंगिएको हो । यस विधेयकलाई संसदमा पेस गरेर संसदबाट पास भई राष्ट्रपतिले प्रमाणीकरण गरेपछि यसले कानुनी मान्यता पाएर लागू हुनेछ ।

०४९ सम्म निजामती कर्मचारीको अवकाशका लागि उमेरहद ६० वर्ष नै रहेकोमा यसलाई संशोधन गरेर ५८ वर्षमा झारिएको थियो । सोही संशोधनमार्फत हाल कार्यान्वयनमा रहेको निजामती सेवा ऐन, २०४९ मा कर्मचारीको उमेर हद ५८ वर्ष छ । सोही प्रावधानका कारण ०४९ देखि धेरै कर्मचारीले अवकाश पाइसकेका छन् ।

लोकसेवा आयोगले पनि कर्मचारीको अवकाश उमेरहद ६० वर्ष कायम गर्न पहिले नै सुझाब दिएको थियो । नेपालीको औसत आयु बढेको र छिटो अवकाश हुँदा राज्यलाई पेन्सनको बोझ बढ्ने तथा सार्क मुलुकहरूको प्रचलनलाई समेत ध्यानमा राखेर अवकाशको उमेरहद बढाइएको तर्क गरिएको छ ।

हाल निजामती सेवामा करिब ९० हजार कर्मचारी छन् ।