राष्ट्रपति हमिदद्वारा पोखरामा जलविहार

राष्ट्रपति हमिदद्वारा पोखरामा जलविहार


बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चारदिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद बिहीबार पोखरा पुगेका हुन् ।

काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरबाट पोखरा विमानस्थलमा राष्ट्रपति हमिद आएका हुन् । सो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्री, प्रदेश सभामा प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनको स्वागत गरे ।

सोही अवसरमा राष्ट्रपति हमिदसमक्ष पञ्चकन्याद्वारा फूल अर्पण गर्नाका साथै पञ्चैबाजाको धुनबाट भव्य स्वागत गरिएको छ । विमानस्थलबाट राष्ट्रपति हमिद आरामका लागि फिस्टेल होटेल गएका थिए । त्यसपछि उनले पोखराको फेवातालमा जलविहार पनि गरेका छन् ।