देउसी भैलोबाट संकलित रकम सार्वजनिक शौचालय निर्माणमा

देउसी भैलोबाट संकलित रकम सार्वजनिक शौचालय निर्माणमा


■ हेमशंकर सिंह, राजविराज

सप्तरीको सप्तकोसी नगरपालिका वडा न.१ फत्तेपुरमा तिहारमा आयोजना गरिएको देउसीभैली कार्यक्रमबाट संकलित रकमको आय ब्यय सार्वजनिक गरिएको छ ।

सप्तकोसी नगरपालिका १ फत्तेपुर चौकमा सार्वजनिक सौचालय निर्माण गर्ने उद्देश्यले पटुकी कला केन्द्र सप्तकोसी, उद्योग बाणिज्य संघ सप्तकोसी र सप्तकोसी युवा उद्दम समुह फत्तेपुरको संयुक्त रुपमा देउँसी भेलो कार्यक्रमको आयोजना गरेका थिए ।

देउसीभैली कार्यक्रमबाट संकलित रकमबाट फत्तेपुर चौकमा सार्वजनिक शौचालय निर्माण गरिने देउसी आयोजक कमिटीका कोषाध्यक्ष अजय श्रेष्ठ (रघु) ले जानकारी दिएका छन् ।

देउसीभैलो कार्यक्रमबाट २ लाख ६५ हजार १ सय सैतिस रुपैयाँ संकलन गरिएकोमा ६२ हजार ४ सय ३० रुपैयाँ खर्च गरी नगद मौज्दात २ लाख १७ हजार १ सय सैतिस रुपैयाँ बराबरको आय ब्यय कोषाध्यक्ष अजय श्रेष्ठ (रघु) ले प्रस्तुत गरे ।

देउसीबाट संकलित रकमबाट शौचालय निर्माण कार्य शुरु गरिने र अपुग रकम नगरपालिकाबाट माग गरिने र नगरपालिकाले सहयोग नगरे स्थानीय स्तरमा सहयोग संकलन गरेर भए पनि सार्वजनिक सौचालय निर्माण गरिने कोषाध्यक्ष श्रेष्ठले बताए ।

दरबार गाउँ गाउँ आयो भनिएता पनि जनताले अझै सरकारको अनुभुति गर्न नपाएको आरोप लगाउदै स्थानीय युवाहरुले सार्वजनिक शौचालय निर्माणको अभियान चलाएको स्थानीय पदम बिष्टले बताए ।

सप्तकोसी नगरपालिका स्थानीय तहको निर्वाचन हुनुअघि नै खुल्ला दिशामुक्त नगरपालिका घोषणा भएता पनि सप्तकोसी नगरपालिकाको केन्द्रसमेत रहेको फत्तेपुर बसपार्कमा एक मात्र शौचालय रहेको र नगर क्षेत्रभित्र सार्वजनिक शौचालय नरहेकाले सर्वसाधरण र बटुवाहरुलाई दिशापिसाब गर्न कठिनाई हुने गरेको छ ।