सौताद्वारा बीभत्स हत्या


सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

शेख बलालकी जेठी श्रीमती ३५ वर्षीया कोरैसा खातुनले २२ वर्षीया सौता खुर्सिदा खातुनको धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

पराल काट्ने फलामको गरास (धारिलो हतियार) ले हत्या गरी झोलामा हालेर फाल्न लागेको अवस्थामा मृतक खुर्सिदाको शव बरामद भएको सर्लाहीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । ‘खुर्सिदाको घाँटी, टाउको, छाती र हातमा गहिरो काटिएको छ । खुर्सिदाको बीभत्स तरिकाले हत्या गरिएको हो,’ उपरीक्षक भट्टराईले बताए ।

घरमा कोही नभएको अवस्थामा कोरैसाले खुर्सिदाको हत्या गरेकी हुन् । जेठीको सन्तान नभएपछि श्रीमान बलालले तीन महिना पहिले मात्र खुर्सिदासँग बिहे गरेका थिए । तीन दिन पहिले मात्र बलाल विदेश गएको मौका छोपी जेठीले कान्छीको हत्या गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।

हत्या गरेर बोरामा हाली घरनजिकै फालेको अवस्थामा उनको शव बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा प्रयोग गरिएको हतियार लुकाएर राखिएको अवस्थामा प्रहरीले बरामद गरेको छ । हत्यामा संलग्न कोरैसालाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
rss

प्रतिक्रिया