कास्की-२ मा काङ्ग्रेसको घरदैलो दोस्रो चरणमा

कास्की-२ मा काङ्ग्रेसको घरदैलो दोस्रो चरणमा


कास्की क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेसले पहिलो चरणको चुनाव प्रचारप्रसार सक्दै आज (२८ कात्तिक) देखि दोस्रो चरणका कार्यक्रम गर्ने भएको छ । पहिलो चरणअन्तर्गत केही वडामा बाहेक अधिकांशमा घरदैलो कार्यक्रम सकिएको र दोस्रो चरणको घरदैलोलगायतका कार्यक्रम बिहीबारदेखि थालिने चुनाव प्रचार समितिका मूल समितिका संयोजक एवम् कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

दोस्रो चरणको कार्यक्रमअन्तर्गत बाँकी वडामा घरदैलो सक्ने र पुनः दोहोऱ्याउने केसीले बताए । पार्टीका सबै संयन्त्रलाई सक्रिय बनाएर मतदातासमक्ष पठाएको जानकारी दिँदै उनले अब दुई–तीन दिनमा पार्टीका संयन्त्रका संयोजकसँग बैठक बसी मतदाताको गुनासो र सुझावबारे छलफल गरेर पार्टीको थप धारणासहित पुनः मतदातासमक्ष जाने योजना रहेको जानकारी दिए ।

पार्टीले उम्मेदवार खेमराज पौडेलसहित मङ्गलबार र बुधबार दुई दिन पोखरा–१७ मा घरदैलो गरे पनि अझै नसकिएको प्रचारप्रसार समितिले जनाएको छ । बिहीबारबाट पोखरा–२० मा घरदैलो गरिने र वडा नं १७ का बाँकी रहेका मतदातालाई पुनः समय मिलाएर भेट्ने उम्मेदवार पौडेलले जनाएका छन् । महानगरका ११ वटै वडामा आफ्नो संयन्त्र क्रियाशील बनाउँदै चुनाव प्रचारप्रसार कार्यमलाई तीव्रता दिएको कास्की काङ्ग्रेसले जनाएको छ ।