आईजीपी बनाउन सचिव नै खोज्छन् जात !

आईजीपी बनाउन सचिव नै खोज्छन् जात !


नेकपाको पोलिटब्युरो सदस्यसरहको नेताका रूपमा समेत चिनिने गृहसचिव प्रेमकुमार राई दुवै प्रहरी सङ्गठनमा आफ्नै जातको मानिसलाई कसरी माथि उकाल्ने भन्ने ‘खेतिपाती’मा लागेको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका अत्यन्त प्रिय पात्रसमेत रहेका प्रेम राई कुनै पनि अवसरका लागि पहिले आफ्नो जातिका मानिस खोज्छन्, जातिका मानिस नभेटिए नेकपाप्रति प्रतिबद्ध व्यक्तिलाई अवसर उपलब्ध गराउने गर्छन् । सशस्त्र प्रहरीमा खड्क राईलाई आईजीपी बनाउने ढोका खोल्न र नेपाल प्रहरीमा चन्द्र कुवेर खापुङलाई भविष्यमा आईजीपीसम्म पुग्ने मार्ग प्रशस्त गर्न प्रेम राईले अनेक तिकडम गरिरहेका छन् ।

सशस्त्र प्रहरीमा वरीयता र योग्यताका आधारमा आईजीपी बनाइने हो भने सुरज श्रेष्ठले एआईजीमा बढुवा पाउनुपर्ने हुन्छ र, स्वाभाविक प्रक्रियाअनुसार हुनुपर्ने पनि त्यही नै हो । अहिले नै एआईजीपीमा सुरजको बढुवा नभए आगामी माघ महिनामा उनले अवकाश पाउँदै छन् । सुरजले अवकाश पाएमा खड्क राईले शैलेन्द्र खनालपछि आईजीपी बन्ने मौका पाउनेछन् ।

यही कारण प्रेम राईले अहिले सुरज श्रेष्ठको बढुवा रोकेर राखेका छन् । उनी माघमा सुरजको अवकाशपछि मात्र बढुवा प्रक्रिया शुरु गर्ने योजनामा रहेको उनकै निकटवर्तीहरूले घटना र विचारलाई जानकारी दिएका छन् ।

उता नेपाल प्रहरीमा पनि सुदूरभविष्यमा आईजीपी बनाउने व्यक्तिका रूपमा प्रेम राईले चन्द्र कुवेर खापुङलाई फेला पारेका छन् । हाल प्रहरीमा आकर्षक मानिने कर्मचारी प्रशासन (क.प्र.) मा एसपी रहेका चन्द्र कुवेर खापुङभन्दा वरिष्ठ अधिकृतहरूको सङ्ख्या धेरै भए पनि तिनको बढुवा प्रेम राईले रोकेर राखेका छन् ।

एसपीबाट एसएसपीमा बढुवा हुन एसपी भएर तीन वर्ष सेवा गरेको हुनुपर्छ, तर चन्द्र कुवेर एसपी भएको आगामी पुसमा मात्र तीन वर्ष पुग्दै छ । वरीयताक्रममा आगाडि रहेका एसपीहरूसँगै बढुवा गरेमा अरूहरूको अवकाश चाँडै हुने र चन्द्र कुवेरको आईजीपीसम्म पुग्ने ढोका खुल्ने भएकोले प्रेम राईबाट एसपीहरूको बढुवा रोक्ने काम भएको हो ।

अहिले चार वर्षभन्दा पहिले एसपी भएका व्यक्तिहरू एसएसपी बन्न प्रतीक्षारत छन् । तर, चन्द्र कुवेर भने तीन वर्ष पुग्नेबित्तिकै एसएसपी बनाइनेछन् । यसो भएमा उक्त ब्याचबाट आईजीपी बन्ने व्यक्तिमा स्वतः चन्द्र कुवेर नै पर्नेछन् ।

मुलुकमा संविधान बनेको र कानुनी राज शुरु भएको भनिए तापनि शासक–प्रशासकहरूको व्यवहार कानुनीराजसम्मत हुन सकेको छैन । जो सत्ता र शक्तिमा रहन्छ उसैले आफूअनुकूल निर्णय लिने प्रवृत्ति पछिल्लो समयमा पहिलेभन्दा बढी नै देखिन थालेको छ । यी प्रेम राईलाई सचिवबाट अवकाशपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाइने योजना नेकपाको नेतृत्वले बनाएको बुझिन्छ । कदाचित अख्तियार प्रमुख भए भने पनि जातीय आधारमै कारबाही प्रक्रिया अघि बढाउनेमा शङ्का गर्नु नपर्ने उनको व्यवहारले देखाएको छ ।