धरानमा मेयरका २३ उम्मेदवार मैदानमा

धरानमा मेयरका २३ उम्मेदवार मैदानमा


आगामी मंसिर १४ गते हुन लागेको उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयर पदका लागि २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सुनसरी निर्वाचन कार्यालय स्रोतका अनुसार बुधबार मेयर पदमा उम्मेदवारी दर्ता गराउनेहरूमा विभिन्न दलसम्बद्ध १३ र १० स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

धरान उपमहानगरपालिकाको रिक्त रहेको मेयर पदका लागि उम्मेदवारी दर्ता गराउनेमा नेकपाका तर्फबाट प्रकाश राई र कांग्रेसका तर्फबाट तिलक राई रहेका छन् ।

यसैगरी मेयर पदका लागि समाजवादीका तर्फबाट गजेन्द्रबहादुर लिम्बू, संघीय लिम्बुवान मञ्च नेपालका तर्फबाट अमर इजम, साझा पार्टीका तर्फबाट राजनकुमार श्रेष्ठलगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा मेयरको चुनाव हुने स्थानीय तहमा धरान उपमहानगरपालिका एक्लो हो । यसअघि भएको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकामा तत्कालीन नेकपाका तारा लिम्बू मेयर पदमा विजयी बनेका थिए । उनको राजधानीको ग्रान्डी अस्पतालमा निमोनियाको उपचारका क्रममा निधन भएपछि उक्त पद रिक्त रहेको छ ।