एसियन एमच्योर चेसमा रिजेन्द्र र सजिनको अग्रता

एसियन एमच्योर चेसमा रिजेन्द्र र सजिनको अग्रता


मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीप रोमाञ्चक मोडमा पुगेका छन् । पाँच चरणको समाप्तिमा पाँच जना खेलाडी ४.५ अंक सहित संयुक्त शीर्ष स्थानमा रहेका छन् । नेपालका सजिन मर्हजन, रिजेन्द्र राजभण्डारी, प्रकाश नेपाल र कृष्ण थापाको साथमा भारतका सुमित ग्रोभर शीर्ष स्थानमा रहेका छन् ।

चौथो चरणसम्म अग्रता कायम गरेका रिजेन्द्र र सजिनबीच पाँचौ चरणमा बराबरी भयो भने प्रकाश नेपालले सुरवीर लामा, सुमितले भारतकै सुभम शुक्ला र कृष्णले निकेन कुसाथालाई हराए । यसैगरी, नेपालका पुरुषोत्तम चौलागाइ र सुश्रुत दाहालको साथमा भारतका आर्नभ कुशहवा, पाकिस्तानका मोहम्मद सहजाद र मलेसियाका इसाक अहुफीजुलको चार अंक छ ।

सुश्रुतले सुरोज मर्हजन, पुरुषोत्तमले काजकस्तानका गब्दुसेभ अमार्न तथा इसाकले आफ्नै देशका ली सोइ हकलाई हराए । साहजादले इरानका अल्भीर मिर मोहम्मदलाई हराए । भारतका युवा खेलाडी आर्नभले नेपालका प्रेमकृष्ण महर्जनसँगको खेलमा जित हात पारे ।

१५ देशका कुल ८४ खेलाडी सहभागि प्रतियोगिता स्वीस लिगको आधारको नौ चरणमा हुने छ । नेपाल बुिद्धचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता कार्तिक २८ गते बिहिबार सम्म चल्ने छ ।

प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । यसैगरी, चौथो र पाचौले ५ सय, छैठौंले ४ सय तथा सातौँले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । आठौँ देखि दशौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् । प्रतियोगिता स्वीस लिगको आधारमा नौ चरणको हुने छ ।