कात्तिक ३० देखि संसारव्यापी हस्ताक्षर अभियान

कात्तिक ३० देखि संसारव्यापी हस्ताक्षर अभियान


स्वधर्म, स्वसंस्कृति, राष्ट्रियता, राष्ट्रिय एकता र जनताका दैनिक समस्या समाधानका निम्ति दबाब पैदा गर्न जनस्तरमा गठित नागरिक सङ्गठन ‘मातृभूमिका लागि नेपाली’ले कात्तिक ३० गतेदेखि संसारव्यापी हस्ताक्षर अभियान शुरु गर्ने भएको छ ।

किराँत, बौद्ध, शिख, जैन, बोन र नेपाली मुसलमानहरूले परापूर्वदेखि मान्दै आएका इस्लामलगायतको धर्म–संस्कृति संरक्षण गर्ने वैदिक सनातन हिन्दूराष्ट्र स्थापनाका निम्ति मातृभूमिका लागि नेपालीले हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । उक्त अभियानको थालनी कात्तिक ३० गते वसन्तपुरबाट हुने र सो दिन बिहान ११ः०० बजे वसन्तपुरमा शुभारम्भ समारोह आयोजना गरिएको सङ्गठनका प्रवक्ता डा. राजेश अहिराजले जानकारी गराउनुभएको छ ।

समारोहमा बौद्ध, किराँत, जैन, शिख र सनातनी वैदिक धर्मका प्रतिनिधि तथा सातजना किशोरकिशोरीले पहिलो हस्ताक्षर गरेपछि अभियान तीन महिनासम्म निरन्तर चल्ने बताइएको छ । कम्तीमा एक करोड हस्ताक्षर सङ्कलन गरी त्यसको ‘प्रतीकपत्र’ राष्ट्रपति र नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय कार्यालयमा बुझाइने भएको छ । संसारभरि जहाँसुकै रहेका नेपालीले हस्ताक्षर गर्न सक्ने भन्दै उक्त सङ्गठनले सबै देशभक्त राष्ट्रप्रेमी नेपालीलाई हस्ताक्षर अभियानमा सहभागी हुन आह्वान गरेको छ ।