शेरबहादुर देउवाकी पत्नी आरजु राणाको व्यापारिक साझेदारका रूपमा समेत चिनिएका बतास दाजुभाइले पशुपतिको धर्मशालामा वास बस्नेहरूमध्येबाट प्रतिव्यक्ति प्रतिरात तीन हजार रुपैयाँसम्म असुल गर्ने भएका छन् । चक्रपथनजिकै बागमती नदी समीपको पशुपति धर्मशाला सञ्चालनका निम्ति यसै वर्षको प्रारम्भमा पशुपति विकास कोषले खुला दरखास्त आह्वान गरेको थियो । दरखास्त दिएकामध्ये पोखराका विवादास्पद व्यापारी आनन्द बतास र शान्त बतासहरू छनोटमा परेपछि उनीहरूले धर्मशालालाई कमाइको साधन बनाउन खोजेका छन् ।
पशुपति विकास कोष आफैँले सञ्चालन गर्दा धर्माशालाको स्थिति लज्जास्पद रहेको र सुधारका लागि भएका प्रयासहरू असफल भएपछि कुनै दाता अघि सर्लान् र धर्मशालाको व्यवस्थापन राम्रो हुने विश्वासका साथ खुला दरखास्त आह्वान गरिएको थियो । धर्मशालामा दुई सयभन्दा बढी अतिथिले रात गुजार्न सक्ने अवस्था रहँदै आएकोमा बतासले सयजना पनि बस्न नमिल्ने गरी धर्मशालाको संरचना बदलेका छन् । पहिले बेडको सङ्ख्या दुई सयभन्दा बढी रहेकोमा अब सयभन्दा कममा सीमित गरिने भएको छ ।
यस्तै, पहिले तीर्थालुहरू अत्यन्त कम शुल्कमा धर्मशालाको प्रयोग गर्न सक्थे भने अब एक व्यक्तिले एक रातको तीन हजारसमम शुल्क लिने गरी बतासले धर्मशालालाई अघोषित ढङ्गले होटेलमा रूपान्तरण गरेका छन् । केही सीमित सङ्ख्याका व्यक्तिहरू मात्र अट्न सक्ने गरी न्यूनतम रु. ३५० प्रतिव्यक्ति लिने किसिमको संरचना पनि धर्मशालामा राखिएको छ । तर, यस्तो संरचना आगन्तुक पाहुनाभन्दा पनि भीआईपीहरूसँगै आउने चालक र तल्लो तहका अन्य कर्मचारीहरूका लागि भएको बताइन्छ ।
ज्ञातव्य छ, धर्मशालाको स्थापना देवीदेवताको दर्शन गर्न आउने भक्तहरूका निम्ति हो र, न्यून आय भएका व्यक्तिहरूले समेत देवीदेवताको दर्शन गरेपछि रात गुजार्ने किफायती ठाउँ प्राप्त गरुन् भन्ने उद्देश्यले धर्मशालाको परिकल्पना गरिएको हो । तर, मुलुकलाई धर्मनिरपेक्ष तुल्याइएपछि धर्म र सेवाभावलाई निरुत्साहित गर्दै भौतिक र व्यापारिक कार्यलाई मात्र प्रोत्साहन दिने कार्य हुँदै आएको छ ।
प्रतिक्रिया