नयाँदिल्ली अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित

नयाँदिल्ली अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित


भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवं मौसम क्षेत्रका अधिकारीहरूले जनाएका छन् ।

बुधबार बिहान नयाँदिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित कणहरू भेटिन पुगेको उनीहरूको भनाइ रहेको यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् । प्राप्त जानकारीअनुसार बुधबार यहाँको वायु प्रदूषणको मात्रा अघिल्ला दिनहरूका तुलनामा बढेको र हावाको प्रदूषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इन्डेक्स, एक्यूआई बढेर ५०० पुगेको बताइएको छ ।

यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषण हो । एक्यूआई ५०० पुग्नु भनेको हावामा प्रदूषित वस्तुको मात्रा अति खराब रूपमा रहनु हो ।

हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदूषणको मात्रा यति धेरै पुगेको ती समाचारमा बताइएको छ । बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीहरूले जनाएका छन् ।

उक्त मापनअनुसार ० देखि ५० सम्म एक्यूआईलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ । त्यसैगरी १०० देखि २०० सम्मलाई मध्यम र २०० देखि ३०० एक्यूआईलाई कमजोर मानिन्छ ।

त्यसैगरी ३०० देखि ४०० सम्म एक्यूआईलाई अति कमजोर र ४०० देखि ५०० एक्यूआईलाई कडा अर्थात एकदमै खराब मानिन्छ । अनि ५०० भन्दा बढी एक्यूआई भयो भने त्यसलाई संकटकालीन अवस्थाका रूपमा लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा कुनै पनि देशको सरकारले ती क्षेत्रहरूमा संकटकालीन अवस्थाको घोषणा गर्नुपर्ने हुन्छ ।

वायु प्रदूषणको यस्तो अवस्थाका कारण यहाँको जनजीवन थप अप्ठ्यारोमा पर्न थालेका समाचारहरू आइरहेका पनि समाचारमा जनाइएको छ । नयाँदिल्ली र यहाँको वरपरको बस्तीमा समेत समस्या देखिन थालेको छ । विगतका केही हप्तादेखि नै यहाँ सडक र वरपरको क्षेत्रका निर्माण कार्यहरू ठप्प छन् भने अरू दैनिक आवश्यकताका वस्तुहरूको परिपूर्तिमा समेत अप्ठ्यारो परिरहेको छ ।

भारतको राजधानी नयाँदिल्लीमा अघिल्ला वर्षहरूजस्तै यसपटक पनि चिसो मौसमको शुरुमै दिल्लीको आकाशको मौसममा खराबी देखिन थालेको हो । यहाँकोे वायु प्रदूषित भएकोले उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै केही दिनका लागि विद्यालय पनि बन्द गरिएको बताइएको थियो ।

यसका कारण बालबालिकालाई बढी असर पर्ने बताइएको छ । उनीहरूमा फोक्सोमा असर पार्ने भन्दै विद्यालयहरू बन्द गरिएको हो । त्यसैगरी सबै नागरिकलाई पनि श्वासप्रश्वासका साथै मुटुमा पनि समस्या उत्पन्न हुन सक्ने भन्दै गम्भीर स्वास्थ्य खतरा देखिएको बताइएको छ ।

यस मौसममा नयाँदिल्लीको आकाशमा सवारीसाधनको धुवाँ र धुलो, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदूषण, कृषिजन्य उद्योगहरूबाट निस्किएको प्रदूषित मात्राका कारण यहाँको वायु प्रदूषित हुने गरेको बताइएको छ ।

नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले यस प्रदूषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै वायु प्रदूषण हटाउन आवश्यक पहल गरिएको बताए ।

दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा २० गुणासम्म बढी भेटिएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा नयाँदिल्लीको आकाशमा बढी मात्रामा वायु प्रदूषण हुन लागेको धेरै वर्ष भएको यहाँका अधिकारीहरूले जानकारी दिएका छन् । यहाँका मौसमविदहरूले पनि प्रदूषण अत्यन्त बढेका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको बताएका छन् ।

नयाँदिल्लीको जनसंख्या चार करोड ५० लाख रहेको छ । भारतीय राजधानी शहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न यहाँको सरकारलाई निकै सकस परिरहेको छ । नयाँदिल्ली सरकारले राष्ट्रिय राजधानी नयाँदिल्लीमा केही दिन यतादेखि यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ । सवारीसाधनबाट हुने प्रदूषणको मात्रालाई रोक्न यस्तो नियम बनाएको भए पनि यसबाट प्रदूषण घट्न नसकिरहेको बताइएको छ ।

यातायातका साधनबाट निस्किने धुवाँ र अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो ।

रासस–सिन्ह्वा