बस तीन सय मिटर तल खस्दा पेरूमा १९ को मृत्यु

बस तीन सय मिटर तल खस्दा पेरूमा १९ को मृत्यु


पेरूको उत्तरी ला लिबरटाडमा मंगलबार यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन् ।

पेरू प्रहरीका अनुसार उक्त बस पहाडी राजमार्गको सडकबाट करिब तीन सय मिटर तल नदीमा खसेको थियो । उक्त बस राजधानी लिमाबाट उत्तरतर्फ करिब ५५७ किलोमिटर टाढा त्रुजिलो शहरनजिक भएको हो ।

प्रहरी अधिकारी लुइज कोन्भेनासले बाक्लो हुस्सुका कारण बस दुर्घटना भएको हुन सक्ने बताए । घाइतेको उद्धार गरी उपचारका लागि नजिकका अस्पतालमा भर्ना गरिएको पनि उनले जानकारी दिए ।

प्रहरीका अनुसार उक्त बस कालान्काबाट त्रुजिलोतर्फ गइरहेको थियो । पेरूमा एन्डिज पर्वतमालामा बारम्बार सडक दुर्घटना हुने गरेका छन् । यो भूभाग समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटर उचाइमा रहेको छ ।

रासस–सिन्ह्वा