१३औँ साग गाईजात्रा पाराले हुने पक्का

१३औँ साग गाईजात्रा पाराले हुने पक्का


■ श्रीविक्रम भण्डारी

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालको व्यक्तिगत हटका कारण १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) दरिद्र र बेइज्जती पाराले हुने पक्का भएको छ । राष्ट्रको मान, सम्मान र प्रतिष्ठा गाँसिएको १३औँ सागका भौतिक पूर्वाधार अहिले पनि पूर्ण रूपमा निर्माण भइसकेका छैनन् । जसमध्ये १३औँ सागको मेरुदण्ड मानिएका अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशालाको भीआईपी प्यारापिट र पोखरा रंगशाला अहिले पनि निर्माणाधीन अवस्थामा छन् । यथार्थमा भन्नुपर्दा यी दुवै रंगशालाको निर्माणकार्य मङ्सिर १५ गतेभित्र सकिने कुनै सम्भावना छैन । यी दुवै रंगशालाले पूर्णता पाउन अझै केही महिना लाग्ने निरीक्षण र अनुगमनमा खटिएका खेलकुद पदाधिकारीले जनाएका छन् । किनकि दुवै रंगशालाको निर्माणको लागि चाहिने सामग्रीहरू अहिले पनि चीन र भारतकै बन्दरगाहमा रहेका छन् । ती आवश्यक सामग्री कहिले नेपाल आइपुग्छन् त्यसको अहिलेसम्म कुनै टुङ्गो लागेको छैन ।

यस्तो विषम परिस्थितिमा पनि मन्त्री सुनार र सदस्यसचिव सिलवालले झुटको खेती गर्न कुनै कसर बाँकी राखेका छैनन् । उनीहरूले दक्षिण एसियाली ओलम्पिक काउन्सिलका पदाधिकारीको आँखामा छारो हाल्दै एक साताभित्र १३औँ सागका सम्पूर्ण पूर्वाधार तयार हुने र साग आयोजना ऐतिहासिक र भव्यतापूर्वक हुने बताएका छन् । खेलकुदका जोकोहीलाई थाहा छ, यस्तो अवस्थामा सागको आयोजना गर्न सकिँदैन । किनकि १३औँ साग राष्ट्रिय प्रतियोगिता नभई अन्तर्राष्ट्रिय प्रतियोगिता हो । अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दा सो किसिमको सबै मापडण्ड पूरा गर्नुपर्छ । तर दुर्भाग्य ! राष्ट्रको प्रतिष्ठा गाँसिएको १३औँ सागमा अहिले मन्त्री विश्वकर्मा र सदस्यसचिव सिलवालले बच्चाले जस्तै खेलवाड गरेका छन् । उनीहरूले प्रतियोगिताको औचित्य र राष्ट्रको प्रतिष्ठाभन्दा पनि व्यक्तिगत हठलाई विशेष प्राथमिकतामा राखेका छन् । अहिले जसरी पनि १३ औँ साग गर्ने अडानमा रहेका मन्त्री र सिलवालले भविष्यमा अन्तर्राष्ट्रियस्तरमा जाने नकारात्मक सन्देशलाई कुनै कोणबाट ख्याल गरेका छैनन् । परिणाम १३औँ सागको आयोजना अब गाईजात्रै आयोजना हुने पक्का भएको छ ।

अन्य खेलको पूर्वाधारको कुरा गर्दा तेक्वान्दो, कराते, टेनिस, सुटिङ, एथलेटिक्स, भारोत्तोलन, ब्याडमिन्टनलगायत खेलका पूर्वाधार अन्तर्राष्ट्रियस्तरका छन् । यी खेलका पूर्वाधारमा अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्न सकिने भए पनि अहिलेसम्म हिटिङ पौडी पोखरीको भने पूर्ण रूपमा निर्माण हुन सकेको छैन । अहिलेसम्म पनि सातदोबाटोस्थित पौडीपोखरी परिसरमा निर्माणाधीन अवस्थामा रहेको हिटिङ पौडी पोखरी १३औँ सागको निर्धारित मितिअगावै निर्माण हुने कुनै छाँटकाँट देखिएको छैन । यदि हिटिङ पौडीपोखरीको निर्माण नभए प्रतियोगिताको आयोजना कहाँ गर्ने भन्नेबारे अहिलेसम्म सम्बन्धित निकाय राखेपले कुनै जानकारी गराएको छैन । पहिले लिङ्कनमा गर्ने सोच बनाएको राखेपले त्यहाँ ६ लेनको मात्रै पौडीपोखरी भएको र अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न नमिल्ने भएपछि अहिले अप्ठ्यारोमा परेको छ । प्राप्त जानकारीअनुसार यदि निर्धारित समयमा हिटिङ पौडीपोखरी तयार नभए पौडी खेल भारतमा लगेर खेलाइने सुनिनमा आएको छ । यदि यस्तो भए साग खेलको इतिहासमा यो पहिलो घटना हुनेछ ।

१३औँ साग नेपाल सरकारको दायित्वभित्र पर्ने भए पनि त्यहाँ सरकारको मात्र नभई आमनागरिकको पनि प्रत्यक्ष लगानी रहेको हुन्छ । अहिले मुलुकमा यति ठूलो प्रतियोगिताको आयोजना हुँदै छ, त्यो कसरी हुँदै छ भन्नेबारे आमनागरिकलाई जानकारी गराएर सम्बन्धित निकायले सुसूचित गराउनुपर्छ । यसर्थमा कि राज्यको पैसा भनेको आमनागरिकको लगानी हो । त्यसैले हचुवाको भरमा आमनागरिकको लगानीको दुरुपयोग कसैले गर्न मिल्दैन । चाहे त्यो अन्तर्राष्ट्रिय प्रतियोगिता साग नै किन नहोस् । अहिले १३औँ सागको लागि राज्यले करोडौँको लगानी गरिसकेको छ, यदि यस्तो अवस्थामा १३औँ सागले आफ्नो औचित्य पुष्टि गर्न सकेन भने नागरिकको लगानी डुब्ने प्रायः निश्चित छ । राज्यले १३औँ सागको मिति तोके पनि अहिलेसम्म सागबारे खुलेर लागेको छैन् । टेन्डर प्रक्रियामा ढिलासुस्ती हुँदा अहिलेसम्म खेल सामग्रीको टुङ्गो लागेको छैन । प्रतियोगिताको आयोजनाका लागि नयाँ खेल सामग्री कहिले आउने हुन् त्यसबारेसमेत राखेप स्पष्ट हुन सकेको छैन । वर्तमान अवस्थामा दिनरात एउटै बनाएर युद्धस्तरमा १३औँ सागको आयोजनामा दत्तचित्त भएर लाग्नुपर्नेमा राखेपका कर्मचारी कहिले पाँच बज्ला र ‘ई एटेन्डेन्स मेसिन’मा औँला थिचौँला र घर जाऔँला भन्ने मानसिकतामा रहनु १३औँ सागको लागि कदापि शुभ लक्षण मानिँदैन ।

मन्त्री विश्वकर्मा र सदस्यसचिव सिलवालको हठले १३औँ साग केही वर्ष पहिले भारतको नयाँदिल्लीमा आयोजना भएको कमनवेल्थ गेम जस्तै हुने सम्भावना बढेको छ । उक्त कमनवेल्थ गेममा पनि निर्धारित समयमा भौतिक पूर्वाधार निर्माण नहुँदा र आयोजकले जबर्जस्ती प्रतियोगिताको आयोजना गर्दा हरिविजोग भएको थियो । यो घटनापश्चात् भारतले अन्तर्राष्ट्रिय रूपमा ठूलो बेइज्जतको सामना गर्नुपरेको थियो । त्यसपछि भारतीय सरकारले यो प्रतियोगिताबारे विशेष जाँच गरेपछि सम्बन्धित निकायका व्यक्तिहरूलाई करोडौँ भ्रष्टाचारको पुष्टि भयो । त्यसपछि उनीहरूले जेलको हावा खानुपरेको थियो । यो कुरा यहाँ किन स्मरण गराउनुप¥यो भन्दा अहिले नेपालको स्थिति पनि त्यस्तै छ । प्रायजसो खेलपदाधिकारीहरू साग कसरी गर्ने भन्दा पनि सागमा कसरी कमाउने भन्ने चिन्तामा छन् । त्यो कुरालाई टेन्डर प्रक्रियामा गरिएको ढिलाइले पनि पुष्टि गर्छ । आर्थिक लाभ लिनकै लागि टेन्डर प्रक्रियामा ढिला गरिएको कसैबाट नछिपे पनि राखेपका पदाधिकारीहरू नौट्ङकी गर्न पछि परेनन् । तसर्थ अहिले जसरी पनि जबर्जस्ती रूपमा १३औँ सागको आयोजना गर्न खोज्नुको कारण पनि यही आर्थिक अनियमितता नै हो । जुन अब फास्ट ट्र्याकको नामबाट कार्य शुभारम्भ हुनेछ । यसबाट मन्त्रालयदेखि राखेपसम्मका पदाधिकारी र कर्मचारी रातारात करोडपति बन्ने पक्का छ । साँचो रूपमा भन्नुपर्दा १३औँ सागमा भ्रष्टाचार गर्न ‘ग्रान्ड डिजाइन’ नै यसरी नै बनाइएको छ ।