शङ्का लागेपछि टिम नै बिदा गरे ओलीले

शङ्का लागेपछि टिम नै बिदा गरे ओलीले


प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टिममा आमूल परिवर्तन गर्न लाग्नुभएको छ । आफ्नोवरिपरि केही विदेशी सुराकीहरू रहेको सूचना प्राप्त गरेपछि प्रधानमन्त्रीले सचिवालय र सल्लाहकार बदल्ने निर्णय लिनुभएको बुझिएको छ । खासगरी पश्चिमा मुलुकका सुराकीहरू ज्यादा रहेको महसूस प्रधानमन्त्रीले गर्नुभएको बताइन्छ ।

गत भदौमा चिनियाँ विदेशमन्त्री वाङको नेपाल आगमनसँगै ओलीले आफ्नोवरिपरि विदेशीको सुराकी भएको सङ्केत पाउनुभएको हो । कार्यक्षमता र कार्यशैलीसमेत कमजोर भएको भनी आलोचना खेपिरहेको उक्त टोलीमाथि केपी ओलीलाई मुठ्ठीमा राखेर नचाउन खोजेको आरोप पनि सत्तारुढ पार्टीभित्रैबाट लाग्न थालेको थियो । ओलीको लोकप्रियतामा ह्रास आउनु र कार्य प्रभावकारी नहुनुमा पनि सचिवालय र सल्लाहकार टोली नै जिम्मेवार रहेको ठानिन्छ । त्यसैले गत साता प्रधानमन्त्रीको आदेशपछि सबै सल्लाहकार तथा सचिवालय सदस्यहरूले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्रीको वरिपरि रहनेहरूमा ट्रेड युनियन नेता विष्णु रिमाल, डा. कुन्दन अर्याल, राजन भट्टराई, रामशरण बजगार्ईं, इन्द्र भण्डारी, राजेश बज्राचार्य, अच्युत मैनाली, चेतन अधिकारी र अस्कर अली हुन् । यीमध्ये राजेश बज्राचार्य र चेतन अधिकारीको पुनः प्रवेशको सम्भावना भए पनि अन्यलाई हैसियतसहित बालुवाटार प्रवेशमा रोक लाग्ने सम्भावना छ । ओलीले पुलपुल्याएका व्यक्तिका रूपमा चिनिने विष्णु रिमाललाई त्यहाँबाट हटाइए पनि उनलाई अमेरिकाको राजदूत बनाइने भन्ने चर्चा चलाइएको छ ।

यसअघि अमेरिकाको लागि राजदूत बनाइएका एनजीओ व्यवसायी अर्जुन कार्की पनि राजदूत बनाइनुअघि रहस्यमयी ‘पश्चिमी कारिन्दा’का रूपमा चिनिन्थे । अमेरिकाको खास विश्वासप्राप्त व्यक्ति भएकैले कार्कीलाई त्यहाँको राजदूत बनाइएको चर्चा त्यसबेला चलेको थियो । कार्यकाल सकिएपछि पनि अर्जुन कार्कीलाई कामचलाउ राजदूतको रूपमा उतै राखिएको छ । युवराज खतिवडालाई अर्थमन्त्रीबाट हटाइसकेपछि उनैलाई अमेरिकाको राजदूत बनाउने भन्ने चर्चा पनि केही अघिदेखि चलिरहेको छ । खतिवडालाई पनि रिमालझैँ अमेरिकाको खास मानिसका रूपमा लिइन्छ ।

केपी ओलीले अनुचित कमाइमा संलग्न व्यक्ति र आफूसँग बसेर आफ्नैविरुद्ध सुराकी गर्नेहरूलाई सहन नसक्ने बताइएको छ । यसअघि २०७२ सालमा प्रधानमन्त्री भएका बेला अमेरिकाको निम्ति सुराकी गर्ने गरेको आरोपमा केपीले एकजना स्वकीय सचिवलाई सेवाबाट हटाइदिनुभएको थियो ।

अब केपीले कस–कसलाई सल्लाहकार र सचिवालयको जिम्मेवारी दिनुहोला भन्ने आमजिज्ञाशाको विषय बनेको छ । सल्लाहकारमा परिपक्व राजनीतिज्ञ तथा विज्ञ र सचिवालयमा वफादार, इमानदार र स्मार्ट व्यक्तिको चयन गर्नेबारे आन्तरिक गृहकार्य भइरहेको बुझिएको छ ।