बङ्लादेशमा रेल र्दुघटनाबाट १५ जनाको मृत्यु, ५८ घाइते

बङ्लादेशमा रेल र्दुघटनाबाट १५ जनाको मृत्यु, ५८ घाइते


बङ्लादेशमा दुई रेल एकआपसमा जुध्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने अरु ५८ जना घाइते भएका छन् । देशको पूर्वीक्षेत्रमा मङ्गलबार विहान घटना भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।

“दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ, अरु ५८ भन्दा बढी घाइते भएका छन्,” स्थानीय प्रहरी प्रमुख अनिसुर रहमदको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

घटनास्थललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म उद्धार तथा उपचारमा केन्द्रीत भएपनि अनुसन्धानको प्रक्रियासमेत सुरु भइसकेको ती अधिकारीले बताए ।

बङ्लादेशमा रेल दुर्घटना बेला बेलामा भइरहने गरेको छ भने वर्षेनी कैयौँको दुर्घटना हुने गरेको छ ।

उता उत्तरी अफगानिस्तानमा मङ्गलबार भएका दुईवटा सडक दुर्घटनामा २८ जनाको मृत्यु हुनुका साथै नौ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार उत्तरी बाघलान प्रान्तमा मङ्गलबार बिहानै भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका थिए । जिल्ला प्रमुख लुतफुल्लाह हातिफले बिकट गाउँको धुलौटे बाटोमा गुडिरहेको मिनिबस खोंचमा झरेको जानकारी समाचार एजेन्सीलाई उपलब्ध गराएका छन् । उनका अनुसार सोमबार पनि यस्तै सडक दुर्घटनामा एघार जनाको ज्यान गएको थियो ।

सडकको दुरवस्था र चालकको लापरवाहीका कारण अफगानिस्तानमा बारम्बार गम्भीर सडक दुर्घटना हुने गरेको छ ।