‘साग’मा जिम्मेवारी नपाएपछि राखेप सदस्यको रुवावासी

‘साग’मा जिम्मेवारी नपाएपछि राखेप सदस्यको रुवावासी


  • श्रीविक्रम भण्डारी

आगामी मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुन गैरहेको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा राष्ट्रिय खेलकुद परिषदका सदस्यहरू जिम्मेवारीविहीन तुल्याइएका छन् । खेलकुदमन्त्री जगतबहादुर सुनारले खेलकुद ऐनको उपेक्षा गर्दै आफूनिकटका व्यक्ति छानेर ‘साग’को समितिमा नियुक्त गरेपछि सदस्यहरूको यस्तो हरिबिजोग भएको हो ।

परिषदका सदस्यहरूलाई यसरी जिम्मेवारीविहीन तुल्याइएपछि यतिबेला खेलकुदमा उनीहरूको रुवावासी सुरु भएको सम्बन्धित सुत्र बताउँछ । राखेपका सदस्यहरू न्यायको गुहार लगाउँदै कहिले उपाध्यक्ष त कहिले सदस्यसचिवको कार्यकक्षमा धाउन थाले पनि हात लाग्यो सुन्य मात्रै भएको छ ।

राखेप बोर्डका उच्च पदमा आसिन पदाधिकारीहरूलाई १३औँ सागको कुनै समितिमा नराख्ने निर्णय सागको मूल आयोजक समितिले गरेको थियो । तर राखेपका सदस्यहरूलाई भने समितिको संयोजक बनाई उनीहरूकै नेतृत्वमा उपसमिति गठन गरेर कार्यसम्पादन गर्ने निर्णय भएको राखेपका एक पदाधिकारीले बताए ।

तर अन्तिम समयमा खेलकुदमन्त्री विश्वकर्माले राष्ट्रिय खेल संघ र राखेपका कर्मचारीको संयोजकमा साग समिति गठन गरेर राखेपका सदस्यहरूमाथि अन्याय गरेका थिए । अहिले राखेपका केही सदस्यले मन्त्री विश्वकर्माको यो कदमको विरोध गर्दै आफुहरूलाई जिम्मेवारीबाट मुक्त गरिएकोमा विरोध जनाएका छन् । सदस्यहरूले विरोध जनाएका कारण केही दिनपछि यो विषयमा छलफल गरेर सदस्यहरूलाई सागको लागि अन्य कुनै जिम्मेवारी दिन लागेको स्रोतले जनाएको छ ।

१३औँ सागमा जिम्मेवारविहीन बनेपछि राखेपका सदस्यहरू अहिले राष्ट्रिय संघका अध्यक्ष र राखेपका कर्मचारी सचिव रहेको साग समितिमा सदस्यमा बस्न बाध्य भएका छन् । आफ्नो पदीय दायित्वसमेत बिर्सिएर समितिमा बस्न बाध्य भएका सदस्यहरू अहिले संघ र कर्मचारीबाट हप्कीदप्कीको समेत सामना गर्न विवश बनेका बुझिएको छ । बताइएअनुसार यसरी हप्कीदप्की आएपछि ती सदस्यले आफ्नो मानमर्दन भएको भन्दै सदस्यसचिव रमेशकुमार सिलवालसँग गुुनासो पोखेका छन् ।

प्राप्त जानकारीअनुसार राखेपको सदस्य भएर कुनै जिम्मेवारी नपाएपछि अहिले राखेपका सदस्यहरू शर्म नमानी समितिको सदस्य बनेका छन् । जसमा इन्दिरा निरौला अतिथि सत्कार समितिको सदस्य भएकी छिन् भने एकेन्द्र कुँवर, सुदिल शाही र दावा गुरुङ अनुगमन तथा मूल्याङ्कन समितिको सदस्य भएका छन् । राखेप सदस्य अर्जुन केसीले भने यातायात समितिको संयोजकको जिम्मेवारी पाएका छन् । केसी एक मात्र राखेपका सदस्य हुन् जसलाई संयोजकको जिम्मेवारी दिन मन्त्री विश्वकर्माले उपयुक्त ठाने ।

त्यस्तै, मन्त्री विश्वकर्माका विश्वास पात्रका रुपमा परिचित राखेपका सदस्य राजेश गुरुङ पोखरा रङ्गशाला निर्माणको जिम्मेवारी पाएर उतै रमाइरहेका छन् । उनलाई सागका लागि गठित समितिको बारेमा कुनै चासो छैन । मन्त्री सुनार विगतमा यिनै गुरुङको भैंसी गोठ उद्घाटन गरेर चर्चामा आएका थिए ।

आफ्नै पार्टीको सरकार, खेलकुदमन्त्री र सदस्यसचिव हुँदा पनि नेकपाबाट राखेपको सदस्यमा नियुक्त भएका सदस्यहरू जिम्मेवारीविहीन भएपछि उनीहरूले खेलकुद मन्त्री विश्वकर्माप्रति आक्रोश व्यक्त गरेका छन् । नियमसंगत आफुहरूले पाउने पर्ने जिम्मेवारीवाहिरका ब्यक्ति र परिषदका कर्मचारीलाई सुम्पिएपछि उनीहरूले मन्त्री विश्वकर्माको कार्यप्रति औँला उठाउँदै विरोध जनाएका छन् । प्राप्त जानकारीअनुसार अहिले खेलकुद मन्त्री विश्वकर्माले पाँचजनाको कार्यसम्पादन समिति गठन गरेर खेलकुदमा कार्य गरिरहेको स्रोतले बताएको छ ।