किन बयान फेर्दैछन् आलम प्रकरणका प्रत्यक्षदर्शी र पीडितपक्ष ?

किन बयान फेर्दैछन् आलम प्रकरणका प्रत्यक्षदर्शी र पीडितपक्ष ?


राजपुरमा बम विष्फोटको आरोपमा पक्राउ परेका पूर्वमन्त्री मोहम्मद आफताब आलमविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस चलिरहँदा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थालेका छन् ।

विसं २०६४ मा भएको संविधानसभाको निर्वाचनको अघिल्लो दिनको विष्फोटको घटनाका एक प्रत्यक्षदर्शी तथा घाइते गौरीशङ्कर राम चमारले बयान फेर्दै अदालत पुगेपछि प्रहरीले पक्राउ गरेको छ । न्यायाधीश दीपक ढकालको इजलासमा बहस चलिरहेका बेला आलमविरुद्ध बयान दिने भनिएका चमारले बम विष्फोटबारे आफूलाई कुनै जानकारी नभएको भन्दै अदालत पुगेका थिए ।

आलमका वकिलका साथमा जिल्ला अदालत छिर्नै लाग्दा चमारलाई प्रहरीले पक्राउ गरेको हो । सरकारी साक्षीका रुपमा रहेका चमारले बयान फेर्दै अदालतमा पुगेपछि उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चमार राजपुरमा भएको बम विष्फोटमा घाइते भएका सरकारी साक्षी हुन् । उनले आफू बमले नभएर स्टोभ पड्केर घाइते भएको कागजात पेस गरेका छन् ।

यसअघि विष्फोटपछि इँटाभट्टामा हालेर जिउँदै मारिएका ओसी अख्तर विदेशमा रहेका भन्दै उनकी पत्नी अमना खातुनले जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।

२३ जनालाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा नेपाली काङ्ग्रेसका नेतासमेत रहेका आलमविरुद्ध गत बिहीबार नै बयान सकिएको अवस्थामा अमना बयान फेर्दै अदालत पुगेकी थिइन् । प्रहरी र जिल्ला सरकारी वकिलको कार्यालयमा पतिलाई आलमले जिउँदै इँटाभट्टामा हालेर मारेको बयान दिएकी उनले अचानक बयान फेर्दै लिखित निवेदन दिएकी थिइन् ।

यसरी आलमपीडित भनिएका सरोकारवालाहरूले धमाधम आफ्नो बयान फेर्नुमा आलमप्रतिको त्रास र कुनै प्रलोभनले काम गरेको हुन सक्ने ठानिएको छ ।

यसैगरी आलमका सर्मथकले गौरमा विशाल मौन जुलुस प्रदर्शन गरेका छन् । आलमको जिल्ला अदालतमा बहस चलिरहँदा सर्मथकले भने गौरमा ठूलो सङ्ख्यामा सोमबार (२५ कात्तिक) दोस्रो पटक मौन जुलुस निकालेका हुन् । आलमको निःशर्त रिहाइको माग गदै मौन जुलुस लिकालिएको जुलुसमा सहभागी काङ्ग्रेसका महाअधिवेशन प्रतिनिधि मुकेश गिरीलाई उद्धृत गर्दै राससले जनाएको छ । बिपी चोकबाट निस्केको जुलुसले जिल्ला अदालत हुँदै गौर भन्सार पुगेर टुङ्गिएको गिरीले जानकारी दिएका छन् । आलमका समर्थकद्वारा यसअघि पनि यसैगरी मौन जुलुस निकालिएको थियो ।

ज्ञातव्य छ, गत २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम विष्फोटको मुख्य नाइके भन्दै १२ वर्षपछि प्रहरीले गत असोज २६ गते आलमलाई गौरबाट पक्राउ गरेको थियो ।