चिनियाँद्वारा ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद !

चिनियाँद्वारा ६८ सेकेन्डमै १ अर्ब डलरको सामान खरिद !


चीनमा पछिल्ला वर्षहरुमा ‘वर्षमा एक दिन’ (सिङ्गल्स डे) नामको विशेष छुट कार्यक्रम आयोजना गर्न थालिएको छ, र यस दिन चिनियाँ नागरिकले सस्तोमा सामान किन्न पाउँछन् ।

आज (११ नोभेम्बर)को दिनलाई पनि ‘सिङ्गल्स डे’को रुपमा मनाइएको छ । यसअन्तर्गत चिनियाँ उपभोक्ताले आज एकैदिन १ अर्ब अमेरिकी डलरको सामान खरिद गरेका छन् । अलिबाबा कम्पनीको विश्वकै सर्वाधिक ठूलो २४–घण्टे सपिङ कार्यक्रमको उदघाटन अमेरिकी मेगास्टार कलाकार टेलर स्वीफ्टले गरेका थिए ।

ई–कमर्श कम्पनी अलिबाबाका अनुसार ६८ सेकेन्डभित्रै १ अर्ब अमेरिकी डलर बराबरको सामान बिक्री गरेको जनाएको छ । अलिबाबाको स्टोरबाट इलेक्ट्रोनिक्सदेखि लत्ताकपडा र घरायासी सामान बिक्री भएका थिए ।

अलिबाबाले गत वर्षको तुलनामा यसवर्ष ४३ मिनेटअघि नै अलि–पे मार्फत सम्पूर्ण भुक्तानी प्रक्रिया टुङ्ग्याएको जनाएको छ । अलि–पेका अनुसार ६३ मिनेट ५९ सेकेन्डमै १४ अर्ब ३० करोड अमेरिकी डलरको कारोबार गरेर नयाँ रेकर्ड समेत बनेको छ ।

अलिबाबाले चीनमा यस किसिमको खरिद दिनको आयोजना गर्न थालेको ११औं वर्ष पुगेको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चिनियाँ उपभोक्ताको मनस्थिति बुझ्न पनि यस कार्यक्रमले सहयोग गर्ने अपेक्षा गरिन्छ ।

चीनको अर्थतन्त्र अहिले मन्दीतर्फ अग्रसर रहेको र अमेरिकासँगको व्यापार युद्ध चलिरहे पनि खुद्रा बिक्रीको अवस्था राम्रो देखिएको छ । एकदिने खरिद अर्थात् ‘११/११’ (नोभेम्बर ११) भनिने यस दिनलाई चिनियाँ ‘अविवाहित’ (सिङ्गल्स) को दिन पनि भनिन्छ ।

यस कार्यक्रमका अवसरमा व्यापारिक शहर शाङ्घाईमा विशेष समारोह आयोजना गरिएको थियो । मध्यरातबाट शुरु हुने यस खरिदको शुभारम्भ अमेरिकी ग्रामी अवार्ड बिजेता कलाकार टेलर स्वीफ्टले विशेष समारोहबीच गरेका थिए ।

गत वर्ष २४ घण्टे यस कार्यक्रममा अलिबाबा प्लेटफर्मबाट मात्र ३० अर्ब ७० करोड बराबरको सामान बिक्री भएको थियो । तर अघिल्लो वर्षको तुलनामा व्यापारमा सामान्य मन्दी आएको छ ।

अमेरिकामा सूचीकृत अलिबाबाले यसै महिनाको शुरुमा कम्पनीको बिक्री निकै बलियो देखिएको छ, तर कम्पनीको समग्र वृद्धि भने झण्डै ४० प्रतिशतले घटेको छ ।

तर यस वर्षको ‘सिङ्गल्स डे’ कार्यक्रम पहिलोपटक अलिबाबाका सहसंस्थापक ज्याक माको अनुपस्थितिमा सम्पन्न भएको थियो । ज्याक माले गत सेप्टेम्बरमा अलिबाबा समूहको नेतृत्वबाट राजिनामा दिएका थिए ।
AFP