पोखरा रङ्गशालाबारे मन्त्री र सदस्यसचिवको दाबी नै रहश्यको घेरामा

पोखरा रङ्गशालाबारे मन्त्री र सदस्यसचिवको दाबी नै रहश्यको घेरामा


■ श्रीविक्रम भण्डारी

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत ९ खेलहरु महिला फुटबल, क्रिकेट, आर्चरी, प्याराग्लाइङडिङ, ट्रायाथलन, बिच भलिबल, भारोत्तोलन, ह्यान्डबल र ब्याडमिन्टन पोखरामा सञ्चालनमा हुँदैछन् । १३औँ साग सञ्चालन हुन २० दिन मात्रै बाँकी रहेको अवस्थामा समेत पोखरा रङ्गशालालगायत अन्य खेलका पूर्वाद्धारहरु पूर्ण रुपमा निर्माण नहुँदा प्रतियोगिता आयोजनाको बारेमा शंका–उपशंका गरिन थालेको छ ।

कस्तो र कति क्षमताको रङ्गशाला बनाउने विषयमा लामो समयको विवादपछि पोखरा रङ्गशालालाई १० हजार दर्शक क्षमताको बनाउने निर्णय गरिएको थियो । त्यसपछि १३औँ सागलाई लक्ष्यगरी निर्माण कार्य शुभारम्भ गरिए पनि अहिलेसम्म पोखरा रङ्गशालाले पूर्णता पाउन सकेको छैन ।

पूर्णताको त कुरा छोडौँ अहिलेसम्म पोखरा रङ्गशालाको निर्माणको आधा कार्य पनि सकिएको छैन । यस्तो अवस्थामा १३औँ सागको सबैभन्दा आकर्षक खेल महिला फुटबल पोखरा रङ्गशालामा नहुने संकेत देखिन थालेको छ । पोखरा रङ्गशालामा लगाएको पुरानो दुबो कुहिएकोले कार्तिक २४ गतेदेखि नयाँ दुबो विछ्याउन थालिएको छ । अब उक्त दुबो कहिलेसम्म विछ्याइसक्ने र मैदानमा सेट हुने चुनौती थपिएको छ । सामान्यतया दुबो विछ्याइसकेपछि ३ महिनासम्म उक्त मैदानमा फुटबल खेल्न मिल्दैन । अब १५ दिनअघि विछ्याएको दुबोको मैदानमा महिला फुटबलको आयोजना कसरी हुन्छ, त्यो चासोको विषय बनेको छ ।

पोखरा रङ्गशालाको प्यारापीटदेखि खेलाडीहरूको चेन्जीङ रुम, प्लेयर बक्स र शौचालय जस्ता अत्यावश्यक संरचनाको समेत अहिलेसम्म निर्माण हुन सकेको छैन । समयले नेटो काटेर अब २० दिन मात्रै बाँकी छ । यस्तो अवस्थामा युद्धस्तरमा दिनरात एकै गरेर निर्माण कार्यमा जुड्दा समेत पोखरा रङ्गशालाले काँचुली फेर्ने विश्वास गर्न सकिँदैन ।

तर राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले भने तोकिएकै मितिमा सम्पूर्ण पूर्वाधार तयार हुने बताएका छन् । साथै गुरुङले कार्तिक २५ गते रङ्गशालाको प्यारापीट आउने दाबी गरेका छन् । गुरुङले यस्तो प्रतिक्रिया दिदा उनको कुरामा स्थानीय ब्यक्तिहरू विश्वास गर्न सकेका छैनन् ।

प्राप्त जानकारीअनुसार पोखरा रङ्गशालाको प्यारापीट अहिलेसम्म पोखरा आइपुगेको छैन । प्यारापीट भारतवाट हिँडे पनि पोखरा कहिलेसम्म आइपुग्छ त्यसको कुनै टुङ्गो छैन । यतिबेला पोखरा रङ्गशाला पूर्ण रुपमा तयार भएर पुडिङको कार्य मात्र बाँकी रहनु पर्नेमा अहिलेसम्म पूर्वाधार निर्माणका सामग्री नै आइनपुग्नु विडम्बना बनेको छ । जसले पोखरा रङ्गशाला समयमै निर्माण हुने कुरामा शंका उत्पन्न गराइदिएको छ ।

तर, पोखरा रङ्गशालाको यस्तो वास्तविकता जान्दाजान्दै पनि राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले १५ दिनभित्रै सम्पूर्ण पूर्वाधार निर्माण हुने दाबी गरेका छन् । साथै उनले ९ वटै खेलको सफलतापूर्वक आयोजना हुने सञ्चारकर्मीहरूसमक्ष बताए ।

अब कुरा आउँछ, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले के आधारमा दक्षिण एसियाली ओलम्पिक काउन्सिलका प्रतिनिधिलाई एक सातामै सम्पूर्ण पूर्वाधार तयार हुने बताए ? यो अहिले चर्चाको विषय बनेको छ । हुनै नसक्ने कुरालाई किन मन्त्री विश्वकर्माले ‘हुन्छ’ भने र काउन्सिलका प्रतिनिधिले पत्याए, त्यसको पछाडि ठूलो रहश्य छ भन्दा अतिसयोक्ति नहोला ।