बलात्कृत १२ वर्षीया बालिकाको गर्भपतन गराइयो

बलात्कृत १२ वर्षीया बालिकाको गर्भपतन गराइयो


बलात्कारबाट गर्भवती भएकी अछामकी १२ वर्षीया बालिकाको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बलात्कारका कारण गर्भवती भएकी बालिकालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएपछि महिला, बालबालिका तथा ज्येष्ठ नागिरकमन्त्री थममाया थापाले उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताउनुभएको हो ।

‘बालिकाको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यर्होछ र बलात्कारीको पहिचान गरी कडाभन्दा कडा कारवाही हुनेछ’, थापाथलीस्थित प्रसूतिगृहमा बालिकालाई भेटेपछि मन्त्री थापाले भन्नुभयो ।

बौद्विक अपाङ्गता भएकी अछाम रामारोशनकी ती बालिका घाँस, दाउरा काट्न गएको बेला जबर्जस्ती करणी परी गर्भ रहन गएको पीडितका आफन्तलाई उद्धृत गर्दै राससले जनाएको छ । कुकुरले टोकेर सुई लगाउन अस्पताल लैजाँदा दुई हप्ताअघि गर्भवती भएको थाहा भएपछि थापाथलीस्थित प्रसूति बालिकाको पाँच महिनाको गर्भपतन गराइएको थियोे ।

अस्पतालका निर्देशक डा. जागेश्वर गौतमका अनुसार सानै उमेरमा गर्भवती भएका कारण उनको गर्भपतन गराएको हो । बालिकालाई केही समय आराम गर्नुपरेकाले र मनोपरामर्शको पनि आवश्यकता पर्ने भएकाले केही समय काठमाडौंमै राखेर उपचार गरिने मन्त्री थापाको भनाइ छ ।