फोरजी सेवाको लोकप्रियता बढ्दै गइरहेको दाबी

फोरजी सेवाको लोकप्रियता बढ्दै गइरहेको दाबी


नेपाल टेलिकमले पूर्वको बिर्तामोडदेखि पश्चिमको महेन्द्रनगरसम्म सातै प्रदेशका विभिन्न प्रमुख शहरमा सहुलियतमा फोरजी सिम वितरण, परिवर्तन र स्तरोन्नती गर्ने कार्यलाई अभियानको रुपमा सञ्चालन गरिएको जनाएको छ । यस कार्यक्रमअन्तर्गत यही कात्तिक २० गते विर्तामोड र २२ गते वीरगन्जमा सिम वितरणका साथै फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन कार्य उत्साहजनक रुपमा सम्पन्न भएको बताइएको छ ।

आज (२४ कात्तिक) आइतबार चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा सिम वितरण कार्य भइरहेको छ भने २६ गते नेपालगन्जको रामलिला मैदान, २८ गते सुर्खेतको आँखा अस्पताल क्षेत्र, ३० गते महेन्द्रनगरको खुलामञ्च र आगामी मंसिर ४ गते पोखराको अमरसिंह मैदानमा सिमकार्ड वितरण गरिने कार्यक्रम रहेको टेलिकमको भनाई छ । यसमा टुजी वा थ्रीजी सिम भएका कम्पनीका ग्राकहरुलाई २ सय एमबी डाटा बोनससहित फोरजी सिम प्राप्त हुनेछ ।

बताइएअनुसार यो विशेष अभियानअन्तर्गत ग्राहकले नेपाल सरकारले जारी गरेका परिचयपत्र, नागरिकता वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको फोटोकपी र एकप्रति फोटो पेश गरी सिमकार्ड प्राप्त गर्न सक्ने छन् ।

यस्तै, गृष्मा ब्रोडकास्टिङले सातै प्रदेशका विभिन्न स्थानमा प्रतिष्ठित कलाकारहरुको साथमा गरिरहेको सांगीतिक कार्यक्रम सप्तरङ्ग २ मार्फत पनि टेलिकमको फोरजी सेवाको प्रचारप्रसार तथा व्यापार प्रबद्र्धन गरिएको छ । साँगीतिक कार्यक्रमको प्रमुख आकर्षण महानायक राजेश हमाल रहेका छन् भनें साथमा जितु नेपाल, गायक सुगम पोखरेल, हिमाल सागर, मेलिना राई, प्रकाश सपुत, रवि ओडलगायतका चर्चित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिइरहेका छन् ।

कम्पनीले नवीनतम् प्रविधि सहितको फोरजी सेवाको गत असोज १५ गते देशभर सातै प्रदेशमा एकैसाथ सेवा प्रवाहको शुभारम्भ गरेपश्चात् ग्राहकमाझ फोरजी सेवाको लोकप्रियता बढ्दै गइरहेको दाबी गरिएको छ ।