१३औँ साग निर्धारित समयमै हुने दाबी

१३औँ साग निर्धारित समयमै हुने दाबी


नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) निर्धारित समयमै हुने भएको छ । नेपाल ओलम्पिक कमिटी एवं दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा कार्तिक २३ गते शनिबार बसेको बैठकले साग निर्धारित समयमै गर्ने निर्णय गरेको हो ।

बैठकमा युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनारले १३औँ सागको लागि निर्माणाधीन भौतिक पूर्वाधाारहरू एक साताभित्रै निर्माण हुने विश्वास ‘साग’ राष्ट्रका प्रतिनिधिहरूलाई दिलाएपछि १३औँ साग प्रतियोगिता निर्धारित समयमै हुने टुङ्गो लागेको हो ।

मन्त्री सुनारले सात दिनभित्रै १३औँ सागका सम्पूर्ण पूर्वाधार निर्माण हुने बताए पनि अहिलेसम्म दशरथ रंगशालाको भिआईपी प्यारापीट, सातदोबाटोस्थित हिटिङ पौडी पोखरी र पोखरा रङ्गशालाको निर्माणले पूर्णता पाउन सकेको छैन । १३औँ सागका खेलहरू आगामी मंसिर १५ देखि २४ गतेसम्म राजधानी काठमाडौं, पोखरा र जनकपुरमा सञ्चालन हुनेछन् ।