३७ घण्टा काममा खटाइएपछि क्रेन चालकलाई हदयाघात

३७ घण्टा काममा खटाइएपछि क्रेन चालकलाई हदयाघात


■ श्रीविक्रम भण्डारी

अन्तर्राष्ट्रिय रङ्गशाला दशरथ रङ्गशालाको भिआईपी प्यारापीटमा पोल ठड्याउने कार्य गर्दै आएका क्रेनचालक इन्द्र ‘दाइ’ श्रेष्ठको निधन भएको छ । इन्द्र दाइको शनिबार (२३ कात्तिक) निधन भएको हो । हृदयघातबाट उनको निधन भएको मेटल पोल ट्रसको जिम्मेवारी सम्हाल्दै आएका युवराज अधिकारीले बताए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले मंसिरको पहिलो साताभित्रै भिआईपी प्यारापीटको निर्माण सम्पन्न गर्नुपर्ने दबाब दिँदै गत शुक्रबार दिनभर र रातभरिसमेत चालक इन्द्रलाई काममा खटाएका सहकर्मी अधिकारीले बताए । गत कार्तिक २२ गते शुक्रबार रातभरि मन्त्री विश्वकर्मा पनि रङ्गशालामै बसेको अधिकारीको भनाई छ ।

शुक्रबार दिनरात र शनिबार दिउँसो १ बजेसम्म निरन्तर ३७ घण्टा पोल ठडाउने कार्य गरेका चालक इन्द्र त्यसपछि बिरामी परेर आराम गर्न आफ्नो निवास गएका थिए । बिसन्चो भएर आराम गर्न निवास गएको १ घण्टापछि अर्थात् शनिबार २ बजे उनको हृदयघात भएर निधन भएको थियो । मन्त्री विश्वकर्माको दबाबमा चालक इन्द्रले बा. २ क. ४६८ नम्बरको चाइनिस क्रेन ३७ घण्टा चलाएका थिए ।

६० बर्षिय चालक ब्लडपेसरको रोगी भएको सहकर्मी युवराज अधिकारीले बताए । ब्लडपेसरको रोगीलाई ३७ घण्टा निरन्तर काम खटाएपछि कामको प्रेसर सहन नसकि उनको मृत्यु भएको अधिकारीले बताए । चालक इन्द्रको मृत्युपछि शनिबार दिउँसोदेखि पोल ठडाउने कार्य रोकिएको छ । आज बेलुकीदेखि अर्को क्रेन चालकले पोल ठडाउने कार्य गर्ने पनि उनले बताए ।

कामको प्रेसरका कारण नै क्रेनचालक इन्द्रको शनिबार भएको निधनबारे अहिलेसम्म उनको ठेकेदार कम्पनी र सम्बन्धित निकाय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदले घटनाको बारेमा कुनै जानकारी गराएको छैन । उल्टै यो घटनालाई गुपचुप राख्न सम्बद्ध पक्षले कसरत गरेको बुझिएको छ ।

भिआपी प्यारपीटको निर्माणको लागि सिएमई र एसटीसी कन्स्ट्रसन संयुक्त रुपमा जिम्मेवारी पाएका थिए । यसको आधिकारिक ठेकेदार आङ छिरिङ दोर्जे भए पनि उपेन्द्र बमले निर्माणसम्बन्धी सम्पूर्ण जिम्मेवारी सम्हाल्दै खेलकुदलाई रिपोर्टिङ गर्दै आएका छन् । यो ठेकेदार कम्पनीको म्याद आज (कार्तिक २४ गते) सकिने राखेपका इन्जिनियर संजीवकुमार पाठकले बताए । आजसम्म भिआईपी प्यारापीटमा १३ वटा पोल ठडिसेका छन् ।