कचपल्टिएको निद्रा : गुजुल्टिएको सत्य



■ बलराम सिलवाल

हिटलरले यहुदी, पर्शुरामले क्षत्री र पृथ्वीनारायण शाहले जैशी विनाश गर्नुमा समान कारकतत्व थियो– प्रतिशोध । एकजना बिराउने अर्को पिराउने । द्रौपदीले दुर्योधनलाई कानाको छोरो नभन्देको भए महाभारत सङ्ग्राम मच्चिने थिएन । असल असलसित मिल्छ, कमसल कमसलसित मिल्छ । कमसलले असलको खेदो खन्छ !

पराईभन्दा घरायसी शत्रु खतरनाक । भेदखोला विभीषणले रावणको सर्वनाश ग¥यो । बेरोजगार बजारमा थुप्रिन्छ । आफू उन्नति गर्न नसक्ने अर्काको डाह गर्छ । चरित्रहीन आशारामबापु । तनाउयुक्त छ आजको समाज । कसैलाई व्यापार चौपट भएको पीर त कसैलाई पुत्रवती हुन नपाएको पीर । कसैलाई स्वास्नीले छोडेको पीर त कसैलाई लोग्ने छोडेको पीर । अकुत पीर अथाह पीर । पीरैपीर तनाव–तनावमा घिस्रिँदो छ जिन्दगानी !!

दुई नम्बरी काम दण्डहीन । नवधनाढ्यको बढोत्तरी । निम्नकोटिका मनुवाहरू निकृष्ट हुन्छन्, बौद्धिक व्यक्तित्वले सकारात्मकता र सभ्यता सिकाउँछ । हीनग्रन्थीले मान्छेलाई पङ्गु बनाउँछ । बाँच्नको लागि सङ्घर्ष गर्नुपर्छ, त्यसको निम्ति आफूलाई सुपेरियर ठान्नुपर्छ । फिका नीलो थोप्लोको रहस्य बुझेपछि स्वाभिमान रहन्छु; अहम्मत्याइँ बिलाउँछ । पानीसर्प र गोमन सर्पको भेद छुट्याउन नसक्ने पत्रु मान्ठाहरू !!!

जोई/पोईको कुभलो चिताउने पोई/जोई भेटिन्छ भने अरूको त के विश्वास ? मान्छे सत्कर्म र साहित्यले बाँच्छ । कृष्णामानवको कृष्णामन । पतितले अरूलाई पतित तुल्याउँछ । रोल्पाको सदरमुकाम लिवाङ होइन थवाङ हो भन्ने जिद्दीवालको कमी छैन । तथाकथित दलहरूले गरिबीमा आफ्नो सफलता देखेसम्म गरिबी न्यूनीकरण हुन्न, सुकुम्बासी समस्याझैँ । दुःख–सुख बाँड्न कहाँ सकिन्छ र रोबोटजस्ता मान्छेहरूसित ? एक पित्को मानवता छैन । शक्तिको उत्पत्ति बन्दुकको नालबाट हुन्छ र संसद् भनेको खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने पसल हो भन्नेहरू खाटी संसद्वादी भइसके । अमेरिकालाई सामाजिक साम्राज्यवादी र भारतलाई विस्तारवादी भन्नेहरू अमेरिकाली र भारतेलीसामु लम्पसार भइसके । बोली र व्यवहारको फरक ।

मान्छेको स्वभाव ताजुबलाग्दो । आधा समय सुतेर बिताउँछ, बाँकी समय परनिन्दामा बिताउँछ । ईश्वर भन्नु नै बाबुआमा हुन् । पुण्य कमाउन चारधाम चहार्नुपर्दैन । बाबुआमा धरधरी नरुवाऊ । अधम जन्माउनुमा केको पुर्जन ? नास्तिकताले मान्छेलाई भ्रष्ट र दुःखी तुल्यायो । पापी बढे, धर्मात्मी रहेनन् । आत्मालोचना नगर्ने मनस्तापी मनुवाहरू । सर्दार खनालझैँ क्लासिकल बन्न सकिएन । विकासी भाटले सत्य बिटुल्यो । भ्रष्टाचारीहरू ऐंजेरुझैँ पलाएको पलाए । पानीको फोकाझैँ छन्– विभिन्न वादहरू ।

संसार गोलो र चेप्टोको विवादमा रुमलियो । सजीवको उत्पत्ति सजीवबाट हुन्छ, निर्जीवबाट होइन । राजनीतिक वादहरूले जनता झुक्याए । लालबुझक्कड चियापसलमा दर्शन छाँट्छ । बथुरीलाई अर्काको कुरो नकाटेसम्म खाएको पच्दैन । पितामाता गुरुनिन्दक पागल जन्तु हो । सबै मान्छे देवकोटा बन्न सक्दैन । शिक्षालयहरू बेरोजगार उत्पादन गर्ने कारखाना । कमिस्टे पुँजीवादमा रमेको छ । सिकन्दरको खुला हातको रहस्य बुझ्ने को छ र ? ६ फिट जग्गा भए पुग्ने असन्तोकी मनुवा । भ्रष्टाचारी पालिका ?! शकुनीय कपटाचार । ठेलीकाठेली सिद्धान्तहरू निरर्थक । धनले नाता टुटाउँछ । परस्त्री/परपुरुषबीच लक्ष्मणरेखा मेटिँदै । घोर अनर्थ घोर कलिजुग । मैला मैला हो ।

जोडरसमा परमानन्दनुभूति गर्छ आजको मनुवा । मोक्षहीनता गुहेकिरोझैँ । एउटा सामन्त मासिन्छ अर्को सामन्त जन्मिन्छ । अङ्कल सामको साम्राज्य । पारिवारिक सुख पाउन त आफ्ण्नो सुवासिनी वा खसम राम्रो देख्नुपर्छ । नेपालीको कस्तो उल्टो बुद्धि ?! कोही मान्छेले पराई मुलुकको ग्रिनकार्ड वा पीआर पाएर विदेशी हुँदा हामी उसलाई उक्साउँछौं, बधाई दिन्छौँ । ऊ नेपालीत्व त्याग्न पाएकोमा फुरुक्क पर्छ । तेरिमा गाँठे । भ्रष्टाचार शून्य सहनशीलता अनुत्तीर्ण । ल्वाँदे हेडमास्टर ल्वाँदे मास्टर । कर्मवादी हुनुपर्छ, भाग्यवादी होइन । असल जीवन असल विचार । परधर्म भयावह । समयनिष्ठता । नेताको पुच्छर बन्नुहुन्न । राजनेताविहीनता । कर्तव्यपरायणता । सकारात्मकता । सिद्धान्तवादिता । टुपी पालेर रक्सी धोक्नुहुन्न । मित्रु कम साथी बेसी । दुई नम्बरी दुई नम्बरी । शोकमग्न मलामीहरू सागरतिर लाग्छन् । कात्रोबाट लास चिहाउँछ । अस्तु ।

प्रतिक्रिया