एसेक्समा मृत भेटिएका ३९ भियतनामीको सनाखत

एसेक्समा मृत भेटिएका ३९ भियतनामीको सनाखत


लण्डनको दक्षिणपूर्वमा रहेको एसेक्समा गत महिना मृत भेटिएका सबै (३९ जना) भियतनामी नागरिकको सनाखत भएको बेलायतको प्रहरीले जनाएको छ । मृतकमध्ये दुई जनाको उमेर १५ वर्ष रहेको र अन्यमध्येका अधिकांश युवा उमेरको रहेका प्रहरीले शुक्रबार जानकारी दिएको हो ।

रोजगारीको प्रलोभनमा बेलायत लैजाने क्रममा उनीहरूको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भनिएको थियो । उनीहरू अक्टोबर २३ मा एसेक्सको एक पार्कभित्र मृत भेटिएका थिए । शुरुमा ती मृतकहरु चिनियाँ नागरिक रहेको आशङ्का गरिएको थियो ।

मानव तस्कर गर्न खोजेको आशंकामा लरीचालक आयरल्यान्डका नागरिकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ । तथापि, उनी पक्राउ परेको दुई साता बित्दा पनि प्रहरी कुनै निष्कर्षमा पुग्न सकेको छैन ।

सो विषयमा अनुसन्धान गर्न भियतनामी प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । लरीमा मारिएकामध्ये ३१ पुरुष र आठ महिला रहेको बेलायती अधिकारीले जनाएका छन् । मृत्युको कारण पत्ता लगाउन शव परीक्षण भइरहेको एएफपीले जनाएको छ ।