उपनिर्वाचनको तयारी तीव्र भएलगत्तैै तात्न थाल्यो सप्तरीको चुनावी माहोल

उपनिर्वाचनको तयारी तीव्र भएलगत्तैै तात्न थाल्यो सप्तरीको चुनावी माहोल


■ हेमशंकर सिंह, राजविराज

सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं. ७ मा वडाध्यक्ष पदको लागि १४ मंसिरमा हुने उपनिर्वाचनको तयारी तीव्र हुनुका साथै चुनावी माहोल तात्न थालेको छ ।

छिन्नमस्ता गाउँपालिकास्थित श्री भुपेन्द्र नारायण संस्कृत माध्यमिक विद्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनको तयारी तीव्र हुनुका साथै चुनावी माहोल तात्न थालेको हो ।

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायधीश चन्द्रमणि ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।

छिन्नमस्ता गाउँपालिका वडा नं. ७ को वडाध्यक्ष पदमा निर्वाचित भएका प्रभाकर यादव जिल्ला समन्वय समितिको संयोजकमा निर्वाचित भएपछि सो पद रिक्त हुन पुगेको थियो ।

उपनिर्वाचनका लागि नेकपा र राजपाले आफ्नो उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा र राजपाले उम्मेदवार टुङ्गो लगाए पनि नेपाली कांग्रेस र समाजवादी पार्टीले अहिलेसम्म उम्मेदवारको टुङ्गो लगाउन सकेको छैन ।

वडा अध्यक्ष पदका लागि नेकपाले अच्छेलाल यादवलाई अघि सार्न लागेको छ भने राजपा नेपालले प्रमिला देवी यादवलाई अघिसार्ने भएको छ । प्रमिला देवी यादव भने जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवकी पत्नी हुन् ।

गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका अच्छेलाल यादव त्यतिबेला वडाअध्यक्षमा निर्वाचित प्रभाकर यादवसँग झिनो मतले पराजित भएका थिए ।

यस्तै, नेपाली कांग्रेसका तर्फबाट उदयनाथ मण्डल, विष्णुकुमार यादव र शिव नारायण मण्डलको नाम चर्चामा रहेको छ । तीनजना आकांक्षीमध्ये एकजनालाई उम्मेदवार बनाइने नेपाली कांग्रेस स्रोतले जनाएको छ ।

समाजवादी पार्टीले हालसम्म उम्मेदवारको चयन गर्न सकेको छैन । समाजवादी पार्टीले राजपासँग केन्द्रमा उपनिर्वाचनका लागि तालमेल मिलाएपछि मात्र उम्मेदवार टुङ्गो लगाउने श्रोतको दाबी छ ।

कार्यालय स्थापनासँगै उपनिर्वाचन र मतदाता शिक्षालगायतको काम तीव्र गतिमा अघि बढाइएको जिल्ला निर्वाचन अधिकारी दिलिप कुमार यादवले जानकारी दिए । जिल्ला निर्वाचन अधिकारी यादवका अनुसार २७ कार्तिकमा उम्मेदवारहरुको मनोनयन दर्ता गरी सूची प्रकाशन गरिने छ ।

२८ कार्तिकमा उम्मेदवारको विरोधमा उजुरी दिने, २९ कार्तिकमा मनोनयन पत्र र उजुरीको विषयमा जाँचबुझ गरी मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।

३० कार्तिकमा उम्मेदवारको नाम फिर्ता र सोही दिन उम्मदेवारको अन्तिम नामावली प्रकाशन गर्ने, १ मंसिरमा उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गर्ने र १४ मंसिरमा विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।

यस्तै १ मंसिरदेखि मतपत्र र मतदान गर्ने तरिका, मतसदर र बदर हुने अवस्था र मतपत्र पट्टयाउने लगायतका तरिकाहरु सिकाउन मतदाता शिक्षा पनि सञ्चालन गरिने जिल्ला निर्वाचन अधिकारी यादवले जानकारी दिएका छन् ।

१४ मंसिरमा हुन लागेको उपनिर्वाचनमा उक्त वडामा ७ सय ५७ पुरुष र ६ सय ४६ महिला गरी १ हजार ४ सय ३ मतदाता रहेको छ । पहिलो स्थानीय तहको निर्वाचनमा सो वडामा १ हजार १ सय ७५ मतदाता रहेकोमा अहिले २ सय २८ मतदाता थपिएर जम्मा मतदाता १ हजार ४ सय ३ पुगेको छ ।

यस्तै, उपनिर्वाचनका लागि छिन्नमस्ता ७ हाटीस्थित राष्ट्रिय प्राथमिक विद्यालयमा ‘क’ र ‘ख’ गरी २ वटा मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।