एसियन एमेच्योर च्याम्पियनसीपको ट्रफी नेपालले जित्ने दाबी

एसियन एमेच्योर च्याम्पियनसीपको ट्रफी नेपालले जित्ने दाबी


नेपाल बुद्धिचाल संघ र मदन भण्डारी स्पोर्टस् एकेडेमीको संयुक्त आयोजना तथा काठमाडौं महानगरपालिकाको सह–आयोजनामा सञ्चालन हुने एसियन एमेच्योर च्याम्पियनसिप प्रतियोगिताको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

प्रतियोगिता कार्तिक २२ गतेदेखि २९ गतेसम्म बुढानिलकण्ठस्थित पार्क भिलेजमा होटलमा सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन कार्तिक २३ गते शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने नेपाल बुद्धिचाल संघका अध्यक्ष एकालाल श्रेष्ठले बताए ।

विश्व बुद्धिचाल महासंघको अफिसियल इभेन्टमध्य नेपालमा आयोजना हुन लागेको यो सर्वाधिक ठूलो प्रतियोगिता हो । स्वीस लिग प्रणाली अनुसार ९ चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सातै प्रदेशका ७० जना खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।

त्यस्तै, यो च्याम्पियनसिपमा भारत, चीन, बंगलादेश, श्रीलंका पाकिस्तान, माल्दिब्स, भुटान, मलेसिया, भियतनाम, फिलिपिन्स, काजकिस्तान, किर्गिस रिपब्लिक, म्यानमार, इरान, हङकङ र जापान गरी १७ देशका १०० जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

कुल १३ हजार ५ सय अमेरिकी डलर पुरस्कार राशी रहेको प्रतियोगितामा क्लासिकल र ब्लीज दुई फम्र्याटमा खेल सञ्चलान हुनेछ । प्रतियोगिताका विजेताले क्यान्डिडेट मास्टर चथा महिलातर्फको विजेताले वुमन क्यान्डिडेट मास्टरको उपाधि प्राप्त गर्नेछन् । त्यस्तै क्लासिकलतर्फ ३७ र ब्लीजतर्फ ६ खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ ।

नेपालले अहिलेसम्म बुद्धिचालको अफिसियल ट्रफी जित्न नसकेको स्मरण गराउँदै संघका सचिव धर्मबहादुर लामाले यो पटक नेपालले नै एसियन एमेच्योर च्याम्पियनसिपको ट्रफी जित्ने दाबी गरे ।