ब्लुमबर्गद्वारा अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुने तयारी

ब्लुमबर्गद्वारा अमेरिकी राष्ट्रपतिको उम्मेदवार हुने तयारी


संयुक्त राज्य अमेरिकाको न्युयोर्क शहरका पूर्वमेयर एवं अर्बपति व्यापारी माइकल ब्लुमबर्ग सन् २०२० को अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार हुन तयारी थालेका छन् ।

डेमोक्रेटिक पार्टीका तर्फबाट झन्डै डेढ दर्जन आकांक्षी प्रारम्भिक चुनावी दौडमा छन् । अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार ७७ वर्षीय ब्लुमबर्गले यसै साता एक अमेरिकी राज्यबाट चुनावका लागि दरखास्त दिने तयारी गरेका छन् ।

ब्लुमबर्गले गत मार्चमा आफू राष्ट्रपतिको दौडमा नरहेको बताएका थिए, तर अन्ततः चुनावी दौडमा उत्रने तयारी गरेका छन् । तैपनि, ब्लुमबर्गका एकजना सल्लाहकारले भने ब्लुमबर्गले यससम्बन्धी निर्णय गरिनसकेको बताए ।

अमेरिकी अर्बपति व्यापारीसमेत रहेका ब्लुमबर्गले आफ्ना सहयोगीलाई अमेरिकी राज्य अलाबामाबाट डेमोक्रेटिक पार्टीको प्राथमिक चुनावी प्रतिस्पर्धाका लागि आफ्नो हस्ताक्षरसहित आवेदन गर्न पठाएका छन् । अलाबामा राज्यमा आवेदन गर्ने शुक्रबार अन्तिम म्याद हो ।

अलाबामा राज्यमा पहिलो प्राथमिक चुनाव हुने मात्र होइन, आवेदनको म्याद पनि यहाँ पहिले सकिन्छ ।

डेमोक्रेटिक पार्टीबाट मनोनयन भएमा सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा ब्लुमबर्गको भिडन्त अर्का अमेरिकी अर्बपति व्यापारी एवं राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।

अमेरिकी धनाढ्य ब्लुमबर्गको चुनावी दौडले हालसम्म डेमोक्रेटिक पार्टीका तर्फबाट अग्रपंक्तिमा देखिएका जो बाइडेनमाथि मुख्य चुनौती खडा गर्नेछ ।

अमेरिकी वित्तीय राजधानी वालस्ट्रिटनिकट मानिएका ब्लुमबर्गले राष्ट्रपतिको दौडमा रहेका अर्का प्रभावशाली उम्मेदवारहरू एलिजाबेथ वारेन र बर्नी स्यान्डर्सलाई वामपन्थी झुकाव राख्ने भन्दै आलोचना पनि गर्ने गरेका छन् ।

एलिजाबेथ वारेनले ट्विट गर्दै ब्लुमबर्गलाई चुनावी दौडमा स्वागत गरेकी छिन् ।

रासस–एएफपी