यातायात कार्यालय सानो भऱ्याङद्वारा लक्ष्यभन्दा ४७ करोड बढी राजस्व संकलन

यातायात कार्यालय सानो भऱ्याङद्वारा लक्ष्यभन्दा ४७ करोड बढी राजस्व संकलन


सानो भऱ्याङस्थित प्रदेश ३ को यातायात व्यवस्था कार्यालयले आव ०७५–७६ मा रु. एक अर्ब ४७ करोड राजस्व संकलन गरेको छ । कार्यालयले रु. एक अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएकामा थप रु. ४७ करोड वृद्धि भएको जनाएको हो । सवारी साधन कर संकलन, यातायात क्षेत्रको आम्दानी, चालक अनुमतिपत्र, सवारी दर्ता किताबलगायत शीर्षकमा राजस्व संकलन बढेको कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए ।

आव ०७६–७७ को कात्तिक २० गतेसम्म रु. ६० करोड ६४ लाख ४३ हजार राजस्व उठेको र सेवाग्राहीको चाप वृद्धि हुँदै गएकाले उनीहरूलाई छिटो, छरितो र गुणस्तरीय सेवा प्रवाह गर्न जनशक्तिको अभाव रहेको कार्यालयले जनाएको छ । दैनिक सेवाग्राहीको भिड लाग्ने उक्त कार्यालयले नौ मात्र कर्मचारी रहेकाले १३ कर्मचारी थप गर्न माग गर्दै आएको छ ।

असारदेखि असोजसम्म सवारीसाधनको नवीकरणलगायत कार्य बढ्ने हुँदा सेवाग्राहीको भिड लाग्ने सो कार्यालयमा कामको चाप बढेका बेला राति ९ बजेसम्म पनि काम गर्नुपरेको बताइएको छ । कम्पाउन्डसहितको भवन नभएकाले कार्यालय हातामा सेवाग्राहीलाई बिमा कम्पनीका प्रतिनिधि तथा बिचौलियाले विभिन्न प्रलोभन देखाएर ठगी गर्ने गरेकाले सीसी क्यामेराको सहयोगबाट निगरानी गरी प्रहरीको समन्वयमा कारबाहीसमेत गरिएको प्रमुख कपालीले जानकारी दिए । उक्त कार्यालयले दैनिक एक हजार दुई सय सेवाग्राहीलाई सेवा दिएको जनाएको छ ।
rss