सोमालियामा बाढीबाट २५ जनाको मृत्यु

अझै एक साता वर्षा जारी रहने, दुई लाख ७० हजार विस्थापित, पाँच लाख ४७ हजार प्रभावित



अफ्रिकी मुलुक सोमालियामा भारी वर्षाका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार बाढीबाट अरू ४७ जना घाइते भएका छन् ।

सोमालियका विभिन्न भूभागमा बाढीबाट जोगिन दुई लाख ७० हजार मानिस अन्यत्र विस्थापित भएका छन् भने जीविकोपार्जन र पूर्वाधारमा ठूलो क्षति पुगेको छ ।

डब्लूएचओ सोमालियाले गरेको ट्विटमा स्थानीय मानिसलाई आतकालीन सहयोगको अत्यन्त खाँचो रहेको जनाइएको छ ।

सोमालियास्थित राष्ट्रसंघीय मानवीय सहायता कार्यालय (ओचा) ले बाढीबाट पाँच लाख ४७ हजार मानिस प्रभावित भएको जनाएको छ । भारी वर्षाका कारण शाबाले नदीमा पानीको स्तर निकै बढेको र नदी बेलेड्वेन शहरमा पसेको छ । यस शहरमा मात्र दुई लाख ३२ हजार मानिस प्रभावित भएका छन् ।

जुबा र शाबेले नदीसँगै देशका सबैजसो साना ठूला नदीमा बाढी आएको र त्यसबाट जताततै जलमग्न भएको छ ।

सोमालियाको जल तथा भूसूचना व्यवस्थापन विभागले सामोलियामा अझै एक साता भारी वर्षा हुने अनुमान गरेको छ ।

प्रतिक्रिया