ब्राउनसुगरसहित तीन पक्राउ

ब्राउनसुगरसहित तीन पक्राउ


प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एक भारतीयसहित तीनजनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले गएराति नेपालगञ्ज उपमहानगरपालिका–९ बाट स्थानीयवासी राजु भन्ने नरेश खटिकलाई २० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

खटिकका साथमा रहेका भारतीय नागरिक बहराइचका रोहन अन्सारी भारततर्फ भाग्ने क्रममा सीमाक्षेत्र जमुनाहबाट उनलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

अन्सारीले भारतबाट ब्राउनसुगर लिएर आउने र खटिकको मद्दतले नेपालगञ्ज र आसपासमा कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरीक्षक थापाको भनाइ छ ।

बिहीबार नै प्रहरीले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट पाँच ग्राम ६१० मिलिग्राम ब्राउनसुगरसहित नेपालगञ्ज उपमहानगरपालिका–४ का समीर अन्सारीलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका तीनैजना लागुऔषध कारोबारी भएको पाइएकाले थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।