सिसडोलवासीको स्वास्थ्य, कृषि र पशु बिमा काठमाडौं महानगरपालिकाले गरिदिने

सिसडोलवासीको स्वास्थ्य, कृषि र पशु बिमा काठमाडौं महानगरपालिकाले गरिदिने


काठमाडौं महानगरपालिकाले सिसडोलका स्थानीय बासिन्दालाई स्वास्थ्य, कृषि र पशु बिमा गर्ने भएको छ । कामपाले विगत १३ वर्षदेखि सिसडोलमा फोहोर थुपार्दै आएको छ । लामो समय फोहोर थुपार्दा स्थानीयवासीलाई समस्या परेको भन्दै बिमा गर्ने तयारी गरेको हो ।

बिमाका लागि अहिले कति प्रभावित भएका छन् भनी नामावली संकलन गर्ने कार्य भइरहेको छ । नामावली सकिएपछि बिमाको कार्य शुरु गर्ने कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

सिसडोलमा काठमाडौं उपत्यकाका १८ स्थानीय तहको दैनिक करिब ७५० मेट्रिक टन फोहोर विसर्जन हुने गरेको छ ।

कामपाले दुई वर्षका लागि भन्दै लामो समयसम्म फोहोर थुपार्दा स्थानीयवासी निकै प्रभावित भएका थिए । दीर्घकालीन फोहोर व्यवस्थापन गर्नका लागि सिसडोलभन्दा दुई किलोमिटर पर बञ्चरेडाँडामा फोहोर विसर्जनस्थल निर्माणकार्य भइरहेको छ ।

सिसडोलमा काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर विसर्जन गरिँदै आएको छ । उपत्यकाबाट दैनिक करिब एक हजार मेट्रिक टन फोहोर निस्कन्छ । काठमाडौं उपत्यकाबाट दैनिक उत्सर्जन हुने फोहोरमध्ये करिब ७५ प्रतिशत सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ ।

शहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा दीर्घकालीन फोहर संकलन केन्द्र निर्माणको काम पनि तीव्र रूपमा अघि बढेको जनाएको छ ।

निर्माणका लागि मन्त्रालयले रु. ३८ करोड बजेट छुट्याएको छ । मन्त्रिपरिषदको गत मंसिर १७ गतेको बैठकले दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम शहरी विकास मन्त्रालयलाई दिने निर्णय गरेको थियो । करिब १५ मिटर अग्लो बाँध र अन्य पूर्वाधारसहितको फोहोर विसर्जनस्थल निर्माण हुने मन्त्रालयले जनाएको छ ।

rss