यी इतिहास हेर्दैमा प्रतिगामी भइन्छ र ?



■ स्वयम्भुनाथ कार्की

रदार भीमबहादुर पाण्डेले ‘श्री ५ महेन्द्र र नेपालको असंलग्न परराष्ट्र नीति’ लेखमा २०१९ सालमा नेपालमाथि ‘अघोषित नाकाबन्दी’ लागेको उल्लेख गरेका छन् । जसलाई चीनले आफ्नो विदेशमन्त्रीमार्फत चेतावनी दियो कि भारतले नेपालमाथि हस्तक्षेप नगरोस् । यसको केही समयपछि चीन–भारत युद्ध भयो । भारतले विश्व जनमत आफ्नो पक्षमा पार्न र सहयोग पाउन नेपाललगायत ११४ मुलुकलाई पत्र लेख्यो । विवादित १९५० को सन्धि र भारतले मागेको गुहारले पनि यो मामिलामा नेपाललाई तटस्थ बस्न रोक्न सकेन । भारत अघोषित नाकाबन्दी झिकेर सम्बन्ध सुधारको प्रयत्न गर्न विवश भयो । भारतले गृहमन्त्री लालबहादुर शास्त्री, भगवान सहाय, डा. कर्ण सिंहलगायतलाई निमित्त पठाएर सम्बन्ध सुधार गर्नुपऱ्यो ।

बेलग्रेड र पाकिस्तानको भ्रमणपछि ०१७ सालको कदम चालेकाले भारत सशङ्कित भएको थियो । भारतीय संसद्मा यस घटनाबारे औपचारिक छलफल भएको थियो । त्यसमाथि वि.सं. २०१८ को असोजमा उनको चीन भ्रमणले भारतले उनलाई आफ्नो विरोधी देख्न थालेको थियो । त्यस भ्रमणमा भएको नेपालचीन सीमा सन्धि र कोदारी राजमार्ग सम्झौता भारतले आफूविरुद्धको मोर्चाबन्दी ठान्न पुग्यो । जनकपुरमा २०१८ माघमा उनीमाथि बम पनि प्रहार भयो । साथमा ‘प्रोपोगाण्डा युद्ध’ जसका केही अवशेष अहिले पनि छन्, जस्तै नारायणहिटी बेचेको कुरा ।

२०१९ वैशाख ५ गते भारतको राजकीय भ्रमणको बेलामा दिल्लीको विश्वसम्बन्ध परिषद्लाई गरेको सम्बोधनको सीधा विरोध सम्भव थिएन । तर, त्यसले लामो समयदेखि भारतले कायम राखेको ठुल्दाजुपन तोडिन लागेको थियो । नेपालको परराष्ट्रमन्त्रीको हैसियतले नेपालको पक्ष बुझाउन दिल्ली पुगेका ऋषिकेश शाह नेपालले आफ्नो परराष्ट्र नीति बदल्नुपर्ने सुझावमा समर्पित भएर आए । राजाले परराष्ट्र नीति बदल्नुभन्दा आफ्नो परराष्ट्रमन्त्री नै बदले । यसैको प्रतिशोधमा सीमाक्षेत्रमा ध्वंशात्मक गतिविधि बढ्यो, अघोषित आर्थिक नाकाबन्दी पनि लाग्यो ।

भारतले सकेजति उपलब्ध हतियार प्रयोग गरेको थियो । मुलुककै परराष्ट्रमन्त्रीलाई प्रभावमा लिएपछि राजा महेन्द्र अवश्य झुक्नेछन् भन्ने सोचले ऋषिकेष शाहलाई प्रभावमा लिएको देखिन्छ । तर, परराष्ट्र नीतिभन्दा मन्त्री बदलेर उनले चुनौती नै दिएका हुन् ।

त्यो सम्बोधनमा नेपालको परराष्ट्र नीति शान्तिको पक्षमा र उपनिवेशवादको विरोधमा रहेको कुरा थियो । भनियो– ‘मेरो देश नेपालले भारत र अरू शान्तिप्रिय उपनिवेशवादविरोधी शक्तिहरूको उपनिवेशवादलाई संसारबाटै निर्मूल गर्ने प्रयासलाई सधैँ समर्थन गरेको छ ।’ ‘तटस्थताको नीति कुनै अर्को विचारधारामा आधारित छैन । वास्तवमा यस दर्शनले दुई विरोधी विचारधाराहरूको बीच साँघुको काम गर्दछ ।’ परराष्ट्र नीतिमा असंलग्नता भारतले पनि अङ्गालेको कुरा पनि त्यसमा आएको छ । ‘जहाँसम्म मेरो सवाल छ तपाईंका नेता श्री नेहरूको यस युक्तिको पक्षमा म छु ।’

तर यो निःसर्त भने होइन, ‘जहाँसम्म स्वतन्त्रता खतरामा पर्दछ वा अन्यायको सम्भावना देखिन्छ त्यस अवस्थामा हामी न निष्पक्ष रहन सक्नेछौँ, न रहने नै छौँ ।’ यी कुराहरू विगतमा जे भए पनि अब नेपाल एक स्वतन्त्र सार्वभौम राष्ट्रको रूपमा रहन्छ भन्ने घोषणा हो । सुरक्षा छाता वा नजिक टाढाको जालमा नेपाल पर्दैन भन्ने अठोट हो । सात सालको दरबार र मन्त्रिपरिषद् बैठकसम्म भारतीय अधिकारीको पहुँच अब मान्य छैन भन्ने चुनौती हो । त्यसैले भारतले सकेजति उपलब्ध हतियार प्रयोग गरेको थियो । मुलुककै परराष्ट्रमन्त्रीलाई प्रभावमा लिएपछि राजा महेन्द्र अवश्य झुक्नेछन् भन्ने सोचले ऋषिकेष शाहलाई प्रभावमा लिएको देखिन्छ । तर, परराष्ट्र नीतिभन्दा मन्त्री बदलेर उनले चुनौती नै दिएका हुन् ।

‘नेपालको चीनसँग पनि दौत्य सम्बन्ध छ र दुई देशमा प्रचलित राजनीतिक संस्थाहरूको असादृश्यले मात्रै नेपाल–चीन सम्बन्ध मैत्रीपूर्ण र हार्दिक हुनुपर्दैन भन्ने कुनै कारण छैन ।’ भारतसँग जस्तै नेपालको चीनसँग सम्बन्ध धेरै अघिदेखि अविच्छिन्न रहिआएको छ र चीनसँगको मैत्री पञ्चशीलका सिद्धान्तहरूमा आधारित छ । जसरी भारतले नेपाल भारतको ‘रोटीबेटी’ र प्राचीनता रहेको भनेर नेपालले भारतभन्दा घनिष्ट सम्बन्ध अरूसँग राख्न नहुने छनक दिने गरेको छ, त्यसलाई अस्वीकार गरेका छन् राजा महेन्द्रले । चीनसँगको सम्बन्ध आवागमन कठिन भए पनि भारतसँग जस्तै प्राचीनता रहेको कुरा बताएका छन् ।

नेपालले कहिल्यै दुई छिमेकीलाई उचाल्ने पछार्ने नगरेको र नगर्ने कुरा पनि भनेका छन् । ‘नेपालको चीनसँगको सम्बन्धको हकमा कहिले चीनलाई उचाली भारतलाई पछार्ने, कहिले भारतलाई उचाली चीनलाई पछार्ने किसिमको नीति नेपालको कहिल्यै रहेको छैन ।’ नेपाल–भारत सम्बन्धको संवेदनशीलतासँग परिचित मात्र होइन गम्भीर पनि भएको कुरा उनको यो भनाइले जनाउँछ ।

प्रतिक्रिया