‘डेटलाइन’ सकियो, अब ‘बाटो म्याद’ मात्रै

‘डेटलाइन’ सकियो, अब ‘बाटो म्याद’ मात्रै


■ श्रीविक्रम भण्डारी

सातदोबाटोमा निर्माणाधीन हिटिङ पौडीपोखरी निकट भविष्यमै नेपालमा आयोजना हुन गइरहेको १३औँ एसियाली खेलकुद प्रतियोगिताअगावै निर्माण हुन्छ या हुँदैन त्यो अहिले विशेष चासोको विषय बनेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले कात्तिक १५ गतेभित्र १३औँ सागका सम्पूर्ण पूर्वाधार निर्माण भइसक्ने दाबी गर्दै ‘डेटलाइन’समेत दिएका थिए । सदस्यसचिव सिलवालले दिएको यो डेटलाइन अहिले पार भइसेको छ , तर उनले गरेको दाबीजस्तो खेलकुद पूर्वाधारको निर्माणमा कुनै चमत्कार भएको छैन । राष्ट्रिय रङ्गशाला दशरथ रंगशाला होस् या सातदोबाटोमा निर्माणाधीन हिटिङ पौडीपोखरी दुवै अहिले पनि निर्माणाधीन अवस्थामा छन् । दुवै पूर्वाधार अहिलेसम्म तयार भएका छैनन् भने कहिलेसम्म तयार हुन्छन् त्यसको अत्तोपत्तो छैन । त्यस्तै पोखरा रङ्गशालाको हालत पनि यस्तै छ, ठेकेदारले मङ्सिर १० गतेभित्र तयार हुन्छ भनेर आश्वासन दिएको छ, सो मितिमा तयार हुन्छ या हुँदैन त्यो पनि ठोकुवा गरेर भन्न सक्ने अवस्था छैन । यसरी अब मङ्सिर १ गतेसम्मको बाटो म्याद पाएका र त्यतिबेलासम्म सम्पूर्ण खेलकुदका पूर्वाधार तयार हुने दाबी गर्दै आएका सदस्यसचिव सिलवाल आफ्नो बोलीमा कति खरो उत्रिन्छन् त्यो प्रतीक्षा गर्नु नै उचित होला ।

विडम्बना ! सदस्यसचिव सिलवाल गर्जन र बर्सन भने छोडेका छैनन् । उनले अझै पनि अतिरञ्जनापूर्ण हठ या खोक्रो दाबी गर्न छोडेका छैनन् । सातदोबाटोस्थिति पौडीपोखरी १३औँ सागअघि कुनै हालतमा तयार नहुने देख्दादेख्दै र जान्दाजान्दै पनि भ्रमको खेती गर्न छोडेका छैनन् । उल्टै सम्पूर्ण खेलप्रेमी शुभचिन्तकलाई गुमराहमा राख्ने प्रयास गर्दै आगामी मङ्सिर १ गतेदेखि पौडी खेलाडीले सातदोबाटोमा निर्मित नयाँ हिटिङ पौडीपोखरीमा प्रशिक्षण गर्ने सफेद झुट बोेल्दै आएका छन् । सत्यतथ्य के हो ? त्यसको वास्तविक जानकारी गराउनुको साटो उल्टै हुँदै नभएको र हुनै नसक्ने कुरामा सदस्यसचिव सिलवालले किन जोड दिँदै सत्यतथ्यलाई लुकाउन खोजिरहेका छन् त्यो अहिले रहस्यको विषय बनेको छ । सदस्यसचिव सिलवालले नुनको सोझो गर्न सफेद झुट आवश्यक छ, तर त्यसको मात्रा कति त्यसको मापन हुन पनि जरुरी छ । राष्ट्रको मान, सम्मान र प्रष्तिष्ठा दाउमा लागेको बेलामा झुटको वैशाखीले कदापि वैतरणी तर्न सकिँदैन । यो कुरा सदस्यसचिव सिलवालले बुझेको हुनुपर्छ, यदि नबुझेको भए बुझ्नुपर्ने आवश्यक भइसकेको छ । मुखले फखाल्न जति सजिलो छ, तर कार्यान्वयन पक्ष त्यति नै जटिल छ । यस्तो अवस्थामा सदस्यसचिवले १३औँ सागको बारेमा जिब्रो पातलो पार्नुअघि सयौैँचोटि सोच्नुपर्ने आवश्यक भइसकेको छ । अन्यथा सिलवाल पनि प्रधानमन्त्री ओलीले देखाएको पानीजहाजको सपनाको मार्गमै सवार नहोलान् भन्न सकिँदैन ।

अन्य पूर्वाधारको कुरा आफ्नो ठाउँमा भए पनि सातदोबाटोमा निर्माणाधीन हिटिङ पौडीपोखरी १३औँ सागको आयोजनाको लागि निर्माण नहुने प्रायः निश्चित भएको छ । उक्त पौडीपोखरीको निर्माणको कार्य जुन रफ्तारले भइरहेको छ त्यसलाई मध्यनजर गर्दा फागुनसम्म पनि निर्माण हुने देखिँदैन । अब कुरा आउँछ, यदि १३औँ सागअगावै हिटिङ पौडीपोखरीको निर्माण भएन भने के हुन्छ त ? नेपालले पौडी खेलको आयोजना कहाँ गर्छ त ? त्यसको विकल्प के त ? अहिले यस्तै प्रश्न खेलकुदमा चर्चाको विषय बनेका छन् । प्राप्त जानकारीअनुसार राखेप सकेसम्म सातदोबाटोमै पौडी खेलको आयोजना गर्न चाहन्छ, त्यसको लागि हिटिङ पौडीपोखरी जसरी पनि तयार गर्ने पक्षमा छ । तर, यो कुरा दिन प्रतिदिन असम्भव बन्दै गएपछि राखेपले लिङ्कन स्कुलमा नै १३औँ सागको पौडी खेलको आयोजना गर्ने सोचमा छ । विकल्पको रूपमा राखेपको सोच राम्रो हो, तर राष्ट्रिय प्रतियोगिता लिङ्कन स्कुलमा गर्न सकिने भए पनि अन्तर्राष्ट्रिय प्रतियोगिता त्यहाँ गर्न मिल्दैन । किनकि लिङ्कनको पौडीपोखरी अन्तर्राष्ट्रिय मापडण्डको छैन् । कुनै पनि अन्तर्राष्ट्रिय पौडी प्रतियोगिताको आयोजना गर्न ८ लेनको पौडीपोखरीको आवश्यकता पर्छ, तर लिङ्कनको पौडीपोखरी ६ लेनको मात्रै छ । त्यसैले त्यहाँ साग गेमको पौडी खेल आयोजना गर्न मिल्दैन । जबर्जस्ती गरी आयोजना गरेको खण्डमा अन्तर्राष्ट्रिय पौडी महासङ्घ (फिना)ले ती खेलहरूलाई मान्यता दिँदैन । त्यसैले लिङ्कनको पौडीपोखरी प्रशिक्षणको लागि मात्रै उपयुक्त छ, यसमा कुनै अन्तर्राष्ट्रिय पौडी प्रतियोगिताको आयोजना गर्न मिल्दैन ।

त्यसो भए कहाँ हुन्छ त पौडी खेलको आयोजना ? कसैलाई थाहा छैन । राखेपका सदस्यसचिव सिलवालले सातदोबाटोमै पौडी खेलका प्रतियोगिता आयोजना हुने बताउँदै आए पनि पौडी सङ्घका पदाधिकारी, प्रशिक्षक र खेलाडीहरू उनीप्रति विश्वस्त हुन सकेका छैनन् । यतिबेला हिटिङ पौडीपोखरीको जुन अवस्था छ, त्यसलाई दृष्टिगत गर्दा कुनै पनि कोणबाट मङ्सिर १५ गतेअघि उक्त पौडीपोखरीको निर्माण हुने देखिँदैन । यथार्थमा भन्नुपर्दा दिनरात एउटै गरी प्रत्येक दिन सयौँ कामदार लगाए पनि सागअघि पौडीपोखरीको निर्माण हुन सक्ने अवस्था छैन । अझ पौडीपोखरी निर्माण भइसकेपछि आवश्यक प्राविधिक नियमहरूको पनि पालना गर्नुपर्ने भएकोले समयका कारण १३औँ सागअघि सातदोबाटोस्थित पौडीपोखरी निर्माण हुने देखिँदैन । पौडीपोखरी निर्माण नभए कसरी हुन्छ त पौडी प्रतियोगिता यो कुरामा अहिलेसम्म राखेपले मौनता साँधेको छ भने पौडी सङ्घका पदाधिकारीहरू राखेपकै आसमा बसेका छन् । किनकि सदस्यसचिव सिलवालले मङ्सिर १ गतेदेखि सातदोबाटोमै पौडी खेलाडीहरूले प्रशिक्षण गर्ने विश्वास दिलाएका छन् । १३औँ सागको कार्यकारी प्रमुखले भनेको मान्नैप¥यो, बन्छ भनेको छ, हामी पर्खेर बसेका छौँ, कसरी बन्छ हामीलाई थाहा छैन, हामीले बन्दैन भनेर भन्न मिल्दैन– एक पौडी पदाधिकारीले बताए ।

१३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आयोजना राज्यले गर्नुपर्ने हो कि राष्ट्रिय खेलकुद परिषद् यतिबेलासम्म पनि यो खुट्याउन गाह्रो भएको छ । राज्य युद्धस्तरमा लाग्नुपर्नेमा राज्यको सक्रियता कहीँ–कतै देखिएको छैन । त्यस्तै युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सागको मस्कट र प्रतीक चिह्नको सार्वजनिकबाहेक अरू केही गरेका छैनन् । मन्त्री विश्वकर्माले केही गरेका छन् भने त्यो हो पोखरा रङ्गशाला, दशरथ रङ्गशाला र सातदोबाटो पौडीपोखरीको निरीक्षण र त्यसपछि समयमै कार्य सक्ने निर्देशन । के १३औँ साग मूल आयोजक समितिको अध्यक्षको काम, कर्तव्य र जिम्मेवारी यति नै हो ? प्रश्न उठेको छ । सदस्यसचिव सिलवालले जस्तोसुकै खोके पनि रङ्गशाला परिसरमा खुलेको साग सचिवालयको कार्यालयले उनको खोकाइलाई प्रमाणित गर्छ । राष्ट्रमा यति ठूलो प्रतियोगिताको आयोजना हुँदा कस्तो व्यवस्थापन हुनुपर्छ त्यसको सानो अंश पनि त्यहाँ देखिँदैन । अनि कसरी हुन्छ साग ? यस्तो व्यवस्थापन हेर्दा झारा टार्न मात्रै १३औँ सागको आयोजना गर्नको लागिएको प्रस्ट रूपमा थाहा पाउन सकिन्छ । जसको उपलब्धि राज्यको ढुकुटी सिध्याउनेमा मात्र केन्द्रित रहेको देखिन्छ ।