बूढानीलकण्ठ नारायणस्थान मठाधीश भवन हस्तान्तरण

बूढानीलकण्ठ नारायणस्थान मठाधीश भवन हस्तान्तरण


भारतीय राजदूतावासको दुई करोड ४६ लाख सहयोगमा निर्माण भएको बूढानीलकण्ठ नारायणस्थान मठको मठाधीश भवन हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले मठका मठाधीश निगमानन्द स्वामीलाई भवन हस्तान्तरण गर्नुभएको हो । तीनतले भवनमा ठूूला १० कोठा छन् ।

भवन हस्तान्तरण गर्नुहुँदै राजदूत पुरीले नेपाल–भारतबीचको सांस्कृतिक सम्बन्ध सुदृढ गर्न मठाधीश भवन निर्माणमा सहयोग गरिएको बताउनुभयो । भवन बूढानीलकण्ठ वेद विद्याश्रम गुरुकुलका लागिसमेत प्रयोगमा ल्याइने जनाइएको छ ।

भवन हस्तान्तरण समारोहमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक नेतृत्वकर्ताहरूको सहभागिता थियोे ।

कार्यक्रममा जिल्ला समन्वय समिति काठमाडौंका प्रमुख शिवसुन्दरराज वैद्य, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल, गुठी संस्थानका अध्यक्ष मीनराज चौधरी, महन्त निगमानन्द स्वामी, ज्येष्ठ नागरिक चन्द्रबहादुर खड्कालगायतले नेपाल भ्रमण वर्ष २०२० मा अझ बढी पर्यटक मन्दिरमा भित्र्याउन पहल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

यो मन्दिर काठमाडौं जिल्लाको उत्तर तर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ । यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलोे प्रस्तर मूर्ति हो । संसारभरी रहेका हिन्दू धर्मावलम्बीहरुका लागि बुढानीलकण्ठ मन्दिरले ठूलो धार्मिक तथा सांस्कृतिक महत्व राख्दछ । यस मन्दिरको दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरुबाट दैनिक रुपमा हजारौको संख्यामा तीर्थयात्रीहरु आउँछन् । मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहने बताइएको छ ।

दुई देशबीच प्रगाढ तथा घनिष्ट सम्बन्ध रहेकोले नेपालको समृद्ध धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनमा भारतले दर्शाएको महत्वलाई यस परियोजनाले जोड दिएको सम्बद्ध पक्षको भनाई छ ।