द्रौपदीको हालतमा जनता !



■ दीपेन्द्र पाण्डे

युद्धपूर्व प्रतिशोधको आगोमा जलेकी द्रौपदी युद्धपश्चात् पश्चात्तापको आगो तापिरहेकी थिइन् । हस्तिनापुरको भव्य राजमहलमा सोच्ने–सम्झने क्षमता गुमाएर बसेकी द्रौपदीलाई कुरुक्षेत्रको क्षतिले जलाइरहेको थियो । राज्यमा विधवाहरूको बाहुल्य थियो । दाहसंस्कारको निम्ति जनशक्तिको अभाव थियो । एकाध पुरुष देखिन्थे । ती पनि वृद्ध र रोगी ! निराश र चिन्तित महारानी द्रौपदी कल्पनाबाहिरको शून्यतामा रहेकै समय महारानीको जय होस् भन्दै भगवान् श्रीकृष्ण कक्षमा प्रवेश गरे । द्रौपदी श्रीकृष्णलाई देख्नासाथ दौडेर अँगालो हाल्न पुगिन् । भगवान् श्रीकृष्णले केहीबेर द्रौपदीको कपाल स्नेहपूर्वक खेलाए र पेटभरि रुन दिए ।

द्रौपदी : यो के भयो ? यस्तो मैले सोचेकी पनि थिइनँ ।

कृष्ण : नियति अत्यन्त क्रूर हुन्छ पाञ्चाली । जुन हामीले सोचेकोअनुरूप चल्दैन । नियतिले हाम्रो कर्मलाई परिणाममा बदल्ने गर्दछ । तिमी प्रतिशोध लिन चाहन्थ्यौ, सफल भयौ । तिम्रो प्रतिशोध पूरा भयो । सिर्फ दुर्योधन र दुशासन मात्र होइन सारा कौरव समाप्त भए । तिमी त प्रसन्न हुनुपर्ने हो ।

द्रौपदी : साथी ! तिमी मेरो घाउमा मल्हम लाउन आएको कि नुन छर्किन ?

कृष्ण : त्यस्तो होइन द्रौपदी, म त तिमीलाई वास्तविकताको अवगत गराउन आएको हुँ । हाम्रो कर्मको परिणामलाई हामी टाढासम्म देख्न सक्दैनौँ । जब हामी देख्न सक्षम हुन्छौँ तब हाम्रो हातमा केही हुँदैन ।

द्रौपदी : के त्यसो भए यस युद्धको लागि पूर्ण रूपमा म नै उत्तरदायी हुँ भगवान् ?

कृष्ण : होइन द्रौपदी, तिमी स्वयम्लाई यति महत्वपूर्ण नसम्झ । तर, तिमीले आफ्नो कर्ममा थोरै मात्र दूरदर्शिता राख्न सकेको भए यति धेरै कष्ट नपाउन सक्थ्यौ ।

द्रौपदी : मैले के गर्न सक्थेँ भगवान् ?

कृष्ण : जब तिम्रो स्वयम्बर हुँदै थियो, तब तिमीले कर्णलाई अपमानित नगरेको भए साथै उसलाई प्रतियोगितामा भाग लिन एक अवसर दिएको भए सायद परिणाम अर्कै हुन्थ्यो । जब तिमीलाई कुन्तीले पाँच पतिको पत्नी बन्न आदेश दिइन् त्यसबेला तिमीले अस्वीकार गरेको भए परिणाम अर्कै हुन सक्थ्यो । त्यसभन्दा पछि तिमीले आफ्नो महलमा दुर्योधनको अपमान नगरेको भए, तिम्रो चीरहरण हुँदैन थियो । तब परिस्थिति भिन्न हुन सक्थ्यो ।

‘हाम्रो शब्द पनि हाम्रो कर्म हुन्छ द्रौपदी । हामीले हरेक शब्द बोल्नुभन्दा पहिला तौलिनु जरुरी हुन्छ अन्यथा त्यसको दुष्परिणाम सिर्फ स्वयम्लाई होइन पूरै परिवेशलाई दुःखी बनाइरहन्छ । हामीले केही बोल्नुभन्दा पहिला शब्द चयनमा होसियारी र समझदारी अपनाउनुपर्दछ । साथै यस कुराको अनुमान गर्नु जरुरी देखिन्छ ता कि शब्द चयनको कारण नयाँ झमेला र दुस्परिणाम हात नलागोस् । बोल्ने कला र व्यवहार कुशलता बिना प्रतिभा हमेसा हाम्रो काम नआउन सक्छ । शब्दबाट हाम्रो औकात, हैसियत र दृष्टिकोण झल्किन्छ । शब्दले मनहरूलाई जोड्न सक्छ भने हाम्रो भावनामा चोट लाउन पनि सक्छ । सोचेर बोलौँ । बोलेर नसोचौँ । समझदारी र बेवकुफीमा यही फरक छ ।

राजनीतिले पर्याप्त नसोचीकन बोलेको र गरेको कर्मको फल पछिल्लो समय जनताले विचित्र ढङ्गले भोग्न बाध्य हुँदै छन् । राम्रो परिणामको कामना गर्दै लोकतन्त्र प्राप्तिको नाममा जनताबाट सम्पन्न हुन पुगेको गडबडीलाई आफ्नो राजनीतिक उपलब्धि मान्ने नेपाली राजनीतिको चिन्तनलाई वासु क्षितिजले कोरेको एउटा सटिक कार्टुनमार्फत उजागर गरिएको छ । समग्र मुलुकको राजनीतिको दुर्दशा देखाउन सफल उक्त कार्टुनमा पूर्वसभामुख र अभियोग लागेका माननीयहरू प्रहरी थानाभित्र रहेका छन् । सभामुखले माननीय सदस्यहरू अब कारबाही शुरु हुन्छ ! भनेको दृश्यले नेपालको राजनीतिमा शब्द र कर्मको महत्व व्यापक अर्थमा उजागर हुन पुगेको छ ।

ठूला अपराधीहरू असनको साँढेझैँ डुक्रेर हिँड्ने, उनीहरूको आन्तरिक स्वार्थ पूरा नहुँदा रणनीतिक ढङ्गले उजागर गरिने घटनाले वर्तमान लोकतन्त्रको रिमोट सिंहदरबारसँग नरहेको मान्न सकिन्छ ।

राजनीतिक परिवर्तनको खातिर मुलुकको अस्तित्व नै धरापमा पार्दै विवेकहीनहरू जनताको आँखामा धुलो हाल्न सफल भए । राजनीतिको अपराधीकरण गर्दै नितान्त व्यक्तिगत स्वार्थमा रमेकाहरू महान् लोकतन्त्रवादी र क्रान्तिकारी कहलिए । हिंसा र पदीय सत्ताको अहमताले उन्मत्त साँढेहरू सर्वसाधारण जनताको आँखामा धुलो हाल्दै राष्ट्र दोहन गर्दै रहे । मानवीयता, कोमलता र मनुष्यता सकिएकाहरू क्रान्तिकारिताको खोल ओडेर निर्दोष जनतामाथि पशुको भन्दा कमजोर र निरीह व्यवहार गर्दै रहे । अभिमान र अहङ्कारले लुट्नुसम्म लुटेका राजनीतिक अपराधीहरूको पोल भटाभट खुल्न थाल्नेबित्तिकै पश्चिम र दक्षिणलाई दोष दिने निम्नस्तरको लफ्फाजीको साथ लिने कला लोकतन्त्रको नजरमा आलोच्य, अपाच्य र अस्वीकार्य मात्र होइन निन्दनीयसमेत छ ।

मार्क्स, लेनिन, माओ मात्र होइन बीपी, गणेशमान, कृष्णप्रसादको जीवन पढेकाहरू आशाराम, वीरप्पनको रूपमा निस्केसँगै लोकतन्त्रमाथि ग्रहण लाग्दै छ । भगवान् कृष्णको उपस्थिति हुँदासमेत राजा भरतको राज्यमा नफस्टाएको लोकतन्त्र नेपालमा आउने वा ल्याउने बेला नभएको भन्नेहरूको वजनदार तर्क ठेलागाडा चढेर अमेरिका पुगिँदैन भन्नेको निम्ति वरदान बन्दै छ । अभिभावकविहीन टुहुरो लोकतन्त्रले बेमौसमको चुटाइ खाने कारणहरू धमाधम उजागर हुँदै गरेको देख्दा हाम्रो लोकतन्त्रको जग कति कमजोर रहेछ भन्ने सर्वसाधारणले देख्न र बुझ्न पाएका छन् । सतहमा देखाइएका अपराध र अपराधीलाई केवल एक सङ्केत र सूचक मान्दा राजनीति अपहरणमा परिसकेको ठोकुवा गर्न सकिन्छ । ठूला अपराधीहरू असनको साँढेझैँ डुक्रेर हिँड्ने, उनीहरूको आन्तरिक स्वार्थ पूरा नहुँदा रणनीतिक ढङ्गले उजागर गरिने घटनाले वर्तमान लोकतन्त्रको रिमोट सिंहदरबारसँग नरहेको मान्न सकिन्छ ।

प्रजातन्त्रदेखि लोकतन्त्र प्राप्तिसम्मको राजनीतिक अपराध र लुटको छिनोफानो गर्दा वर्तमानको लोकतन्त्र जीवित कसरी रहला ? भन्ने गम्भीर प्रश्न मुलुकवासीसामु तेर्सिएको छ । असङ्ख्य काण्डैकाण्डको सगरमाथा खडा गरिएको लोकतन्त्रमा मुलुकले पालेका भ्रष्टाचारी, यौनदुराचारी, राष्ट्रघाती, पापाचारीको सर्वनास गर्न विचित्रको तेस्रो जनआन्दोलन सफल गर्नुपर्नेछ । प्रजातन्त्र र लोकतन्त्रको आन्दोलनलाई समर्थन गर्ने नाममा मुलुकको भाषा, धर्म, संस्कृति र सार्वभौमसत्ता नै बसाइँ सार्न सफल शक्तिले तेस्रो जनआन्दोलनमा समेत पहुँच राख्न सक्ने खतरा मडारिएको वर्तमान अवस्थामा मुलुकको अस्तित्व खतरनाक मोडमा उभिएको छ ।

सिंहदरबार दुईतिहाइको संसदीय अङ्कगणितमा झुमेको समयमा समेत मुलुकले दिशा पक्रिन किन असफल हुँदै छ ? शान्ति, स्थिरता, विकास र समृद्धिले किन गन्तव्यतर्फको यात्रा शुरु गर्न सकिरहेको छैन ? सत्यको नाममा कुरुवंशलाई समाप्त गर्दै द्रौपदीको शब्द र कर्मलाई दोष दिने कला वर्तमान लोकतन्त्रमा किन फिट गरिँदै छ ? केवल पात्रहरूलाई धावा बोल्दै सत्ताको स्वार्थ पूरा गर्ने महाभारतकालीन राजनीति फेरि पनि किन मौलाउँदै छ ? प्रवृत्तिहरू जीवित राख्दै लोकतन्त्रको लामो आयु खोज्ने कला मुलुकवासीको निम्ति झनै कष्टकर बन्दै छ ।

जनताले चाहेको लोकतन्त्र कुपोषणको सिकार बन्दै छ । दुर्योधन र दुशासन मात्र होइन सारा कौरव समाप्त भए भन्दै आत्मरतिमा हौसिएका मुलुकवासी नयाँ–नयाँ दुर्योधन र दुशासनको शोषणमा पर्दा लोकतन्त्र दिशाहीन र गन्तव्यहीन बन्दै छ ।

मुलुकमा लोकतन्त्रको दरबार संविधानमार्फत स्थापित गरिएको छ । जनताको नाममा नवदुर्योधनहरूले मच्चाएको ब्रह्मलुट र चीरहरण टुलुटुलु हेरेर बस्न विवश जनताको हालत शब्दमा वर्णन गर्न हजार जिब्रा भएका शेषनागलाई समेत हम्मे पर्दै छ । सभासद्–सांसदहरूको विगत अपराधसँग गाँसिएको धमाधम खुलासा हुँदा दलहरूको नैतिकता र सुशासनको कुरूप अनुहार आममानिसले देख्न पाएका छन् । अपराधको जगमा निर्माण गरेको राजनीतिक हैसियत प्रयोग गर्न पाउँदा उनीहरूबाट निर्मित कानुनलाई लोकतन्त्र र देशको उपलब्धि मान्नुपर्ने विडम्बना ‘माननीयज्यू अब कारबाही शुरु हुन्छ’ भन्ने कार्टुनको व्यङ्ग्यपछि लोकतन्त्र निःशब्द बन्न पुगेको छ ।

तमाम बेथिति, विकृति, विसङ्गति र चरम अराजकता मौलाएको मुलुकमा मुलुकवासीको हालत द्रौपदीको भन्दा किमार्थ फरक छैन । प्रजातन्त्र र लोकतन्त्रको लोभमा नियति अत्यन्त क्रूर बनेर निस्किएको छ । जनताको कर्म अत्यन्त दुःखदायी बन्दै छ । जनताले चाहेको लोकतन्त्र कुपोषणको सिकार बन्दै छ । दुर्योधन र दुशासन मात्र होइन सारा कौरव समाप्त भए भन्दै आत्मरतिमा हौसिएका मुलुकवासी नयाँ–नयाँ दुर्योधन र दुशासनको शोषणमा पर्दा लोकतन्त्र दिशाहीन र गन्तव्यहीन बन्दै छ ।

जनता सम्झने र सोच्ने क्षमता गुमाएर बसेका छन् । मुलुक युवाविहीन बन्दै छ । रिमिट्यान्सको रोगमा मुलुकमा वृद्ध र रोगी थुप्रँदै छन् । निराश र चिन्तित जनता शून्यतामा जीवन गुजार्दै छन् । द्रौपदी (जनता) दौडेर श्रीकृष्णलाई अंगालो हाल्न खोज्दै छन् । लोकतन्त्रका श्रीकृष्णहरू बोतल, रोशनी र द्रव्यमोहमा हाम फालेका छन् । द्रौपदी पेटभरि रुन पनि सकिरहेका छैनन् । जनता वास्तविकतासँग अवगत छन्, तर परिणाम बदल्ने चेष्टासमेत गरिरहेका छैनन् । जनता टाढासम्म देख्न चाहिरहेका छैनन् । जब जनता टाढा देख्न तयार हुनेछन् त्यतिबेला लोकतन्त्र मात्र होइन मुलुक नै नरहने अवस्था आउन सक्नेछ । भगवान् कृष्ण तत्काल द्रौपदी बचाउन र सम्झाउन आउने छैनन् । जनताले आफ्नो कर्ममा थोरै मात्र दूरदर्शिता राख्न सकेको खण्डमा वर्तमानको कष्ट भने अवश्य घट्नेछ ।

प्रतिक्रिया