नेकपाभित्र भयानक तरङ्ग

नेकपाभित्र भयानक तरङ्ग


प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा खराबी आएसँगै सरकारको गति अप्रत्यासित रूपमा बढेको छ र, यसरी गति बढाइनुलाई रहस्यपूर्ण मानिएको छ । अजरवैजानको बाकुमा आयोजित असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर फर्किएकै बेलादेखि अस्वस्थ महसूस गर्नुभएका प्रधानमन्त्री ओलीलाई गत साता अस्पताल भर्ना गरी उपचार गरिएको थियो । फेरिएको मिर्गौलाले समेत काम गर्न नसकेको पाइएपछि ओलीको ‘डायलाइसिस’ शुरु भएको छ । मिर्गौलाले काम नगरेपछि यन्त्रमार्फत रक्त शुद्धि प्रक्रिया शुरु गर्ने प्रक्रियालाई ‘डायलाइसिस’ भन्ने गरिन्छ । उनान्सत्तरी वर्षीय केपी ओलीको फेरिएको मिगौर्लाले राम्रोसँग काम गर्न नसकेको जानकारी चिकित्सकहरूबाट मिलेको छ । अब निरन्तर डायलाइसिस गरेर जीवन लम्ब्याउने या नयाँ मिर्गौला प्रत्यारोपणको जोखिम उठाउने, दुईमध्ये एउटा विकल्प रोज्नुपर्ने अवस्थामा केपी ओली पुग्नुभएको छ । उमेर बढी भएको मानिसको मिर्गौला प्रत्यारोपण जोखिमयुक्त हुने चिकित्साविज्ञहरूको भनाइ छ ।

यसरी प्रधानमन्त्रीको स्वास्थ्य असामान्य भएसँगै अर्का अध्यक्ष प्रचण्डको छटपटी अचानक ‘मौनता’मा रूपान्तरित भएको छ भने सरकारचाहिँ दु्रतगतिमा अघि बढ्ने ‘चुरीफुरी’ देखाउँदै छ । ‘चुनाव हारेको सरकार’ले सत्ता छोड्नुअघिझैँ अनेक निर्णयहरू फटाफट गर्न थालेपछि आममानिसले केपी ओलीले ‘अब राजीनामा दिन खोजेको’ या उहाँको स्वास्थ्यस्थिति धेरै नै कमजोर भएको अनुमान र आशङ्का गरेका छन् । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्री बनाएर केपी ओली नयाँ मिर्गौला प्रत्यारोपणका लागि विदेश जाने र पूर्ण रूपले ठीक भएपछि मात्र उहाँ फर्किने भन्ने हल्ला–चर्चा पनि केही दिनअघिदेखि नै शुरु भएको छ । नयाँ प्रधानमन्त्री आइसकेपछि बेग्लै ढङ्गले काम हुन सक्ने सम्भावनालाई हेरेर केपीकै कार्यकालमा ‘हुन सक्ने प्रकारका’ निर्णय गर्न सरकार हतारिएको पनि बताउन थालिएको छ ।

केपीको स्वास्थ्यमा देखापरेको समस्यालगत्तै नेकपाभित्र नेता र कार्यकर्ताहरू आफ्नो भविष्य सुरक्षाका निम्ति छटपटिन थालेका छन् । लामबद्ध भएर हिँडिरहेको कमिलाहरू अचानक वर्षा भएको अवस्थामा आफ्नो सुरक्षाका निम्ति जसरी भौँतारिन्छन्, अहिले केपीको स्वास्थ्य कमजोर हुँदा नेकपाभित्र ठीक त्यस्तै अवस्था देखापरेको छ ।

केपीको स्वास्थ्यमा देखापरेको समस्यालगत्तै नेकपाभित्र नेता र कार्यकर्ताहरू आफ्नो भविष्य सुरक्षाका निम्ति छटपटिन थालेका छन् । लामबद्ध भएर हिँडिरहेको कमिलाहरू अचानक वर्षा भएको अवस्थामा आफ्नो सुरक्षाका निम्ति जसरी भौँतारिन्छन्, अहिले केपीको स्वास्थ्य कमजोर हुँदा नेकपाभित्र ठीक त्यस्तै अवस्था देखापरेको छ । ओलीले विश्राम लिएको अवस्थामा उहाँको पक्ष एकताबद्ध भएर रहने सम्भावना कम छ । ईश्वर पोखरेल र विष्णु पौडेलबीचको टक्करले केपीको वर्तमान टिमलाई नराम्रोसँग विभाजन गर्न सक्ने सम्भावना छ ।

केपीले बिदा लिएको अवस्थामा नेकपाभित्र चार प्रभावशाली गुटहरूको उदय हुन सक्ने देखिन्छ । प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतम र ईश्वर पोखरेल चार गुटका चार नेताका रूपमा देखापर्न सक्ने भए पनि वामदेव र ईश्वर एक ठाउँमा उभिन सक्ने र त्यसले नयाँ शक्ति सृष्टि गर्ने सम्भावना पनि छ । केपी पक्षले भावी अध्यक्षको रूपमा वामदेव गौतमलाई अघि सार्ने सङ्केत दिएको छ । यदि गौतम र पोखरेल एकै ठाउँमा भए भने त्यसले नेकपाभित्रको शक्ति सन्तुलनलाई बेग्लै ठाउँमा पुऱ्याउनेछ । प्रचण्ड र माधव नेपाल एकै टिममा बस्ने स्थिति नरहेको बुझिन्छ । नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे र भीम रावललगायतका नेताहरू माधव नेपालको पक्षमा उभिए भने यो टिम पनि बलवान हुने र पार्टीमा त्रिपक्षीय टक्करको अवस्था पैदा हुने देखिन्छ ।

यस्तै, माधव र वामदेवबीच सहमति बनेर एकजनाले अध्यक्ष र एउटाले प्रधानमन्त्रीको जिम्मेवारी लिएमा प्रचण्ड नराम्रोसँग रक्षात्मक अवस्थामा पुग्न सक्ने सम्भावना छ । त्यसैले केपी ओलीसरहको अध्यक्ष पदमा रहे पनि उक्त हैसियत जोगाउन प्रचण्डलाई मुस्किल पर्न सक्ने अवस्था छ । त्यसो त केपीले सक्रिय भूमिका निर्वाह गरिन्जेलसम्म प्रचण्ड त्यसै पनि किनारामा परिरहने निश्चित छ । माधव नेपाल पनि केपीसँगै उभिनुभएको भए प्रचण्डले अहिले व्यहोर्नु परिरहेकोभन्दा पनि प्रतिकूल अवस्थाको सामना गर्नुपर्ने हुन सक्थ्यो ।