स्वास्थ्यमा ट्रेड युनियनद्वारा अनियमितताको पराकाष्ठा

स्वास्थ्यमा ट्रेड युनियनद्वारा अनियमितताको पराकाष्ठा


नेपालमा सबै विषयमा यति राजनीतीकरण भएको छ कि भनिसाध्य छैन । मन्दिरमा प्रायश्चित गोदान गराउने पण्डितदेखि भिटामिन ‘ए’ खुवाउने महिला स्वास्थ्य स्वयम्सेविकासम्म काङ्ग्रेस–कम्युनिष्टमा बाँडिएका छन् । त्यही बेथा पवित्र स्वास्थ्य क्षेत्रमा रहिआएको छ । नेपालमा कम्युनिष्टहरूले जे–जे गलत काम गरेका छन् तिनैको सिको आफूलाई प्रजातन्त्र लोकतन्त्रको ठेकेदार बताउने काङग्रेसका नेताहरूले गरेका छन् । यिनीहरूलाई सल्लाह सुझाव स्रोत–साधन विदेशी अन्तर्राष्ट्रिय ट्रेड युनियनहरूले प्रवाह गरिरहेका छन् ।

जसरी नेपालमा आईएलओ १५९ पास गराउन विदेशीले षड्यन्त्र गरे अहिले भएका संस्थाहरूलाई राजनीतीकरण गर्न विदेशी मिसिनरी र अन्तर्राष्ट्रिय ट्रेड युनियनहरू लागेका छन् । यसको पहिलो बदमासी वर्तमान प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल जिफन्टका अध्यक्ष हुँदा गाउँमा रहेका महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई विभिन्न प्रलोभन दिएर जबर्जस्ती जिफन्टको सदस्य बनाइयो । स्वास्थ्य स्वयम्सेवी सङ्घको नाममा गाउँमा पोलियो खुवाउने भिटामिन ए खुवाउने महिलाहरूलाई अनेक झुटा प्रलोभन दिएर नेपाल कम्युनिष्ट पार्टीको संस्था जिफन्टको सदस्य बनाएर उनीहरूबाट मासिक लेबीसमेत उठाउने काम गरियो । त्यही गलत कामको सिको स्वयम्सेवी सङ्घ नेपालको नाममा नेपाली काङग्रेसको शुभेच्छुक सङ्घ नेपाल ट्रेड युनियन काङग्रेसले गरेको छ । अन्तर्राष्ट्रिय रूपमा पीएसआई पब्लिक सर्भिस इन्टर नेसनलले वित्तीय सहयोग गरिरहेको छ । नेपाल ट्रेड युनियन काङ्ग्रेसको अध्यक्ष पुष्कर आचार्य छन् उनी कृष्ण सिटौलाका नजिक मानिन्छन् । उनले पनि गलत कार्यलाई बढवा दिने काम गरिरहेका छन् ।

महिला स्वास्थ्य स्वयम्सेविकाको नाममा ब्रह्मलुट नेपाल स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष रामजी घिमिरेले गरिरहेका छन् उनी आफैँ अनियमितताको आरोप लागेका व्यक्ति हुन् । विगतमा अख्तियार दुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषमा बाबुराम रेग्मीसहितको टिमसँग सेटिङ मिलाएर यिनीहरूको समूह सफाइ लिन सफल भयो । तत्पश्चात् अख्तियारले विशेष सरकारी वकिल कार्यालयमार्फत सम्मानित सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरेको छ । अख्तियारको आदेशमा निलम्बन भएको बेला पनि नेपाल स्वास्थ्यकर्मी सङ्घको पद नछाडेका घिमिरेले अहिले पनि मुद्दा विचाराधीन भएको बेला नैतिकताको नाताले पदमा बसिरहन सुहाउँदैन । आफूलाई लोकतान्त्रिक प्रजातन्त्रिक भन्ने नेपाली काङ्ग्रेस त्यसको शुभेच्छुक सङ्घका नेताहरूको चरित्र यस्तो भएपछि वामपन्थीहरूसँग कसरी लडाइँ लड्ने । रामजी घिमिरे विगत ६५ सालदेखि अध्यक्ष पदमा बसेका छन् । हालसम्म सङ्घको करोडसम्म रकम हिनामिना भइसकेको छ ।

हालै इन्डोनेसियाको बालीमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा आफूलाई सहयोग गर्ने केटीसाथी, आफ्नो बुहारी भगवती घिमिरे, उनको श्रीमान्समेत नारायण आचार्य, कमल भट्टराईलगायतका व्यक्तिहरूलाई लिएर सहभागी भएर आए । उमाकान्त स्वास्थ्यमन्त्री भएको बेला वामपन्थी पृष्ठभूमिको दीपक भट्टलाई भित्रिया बनाएर आफ्नो भात–भान्सा चलाए । गगन थापा स्वास्थ्यमन्त्री भएको बेला प्रजातान्त्रिक सेनानी सङ्घको छोरा नेत्र कटुवाललाई हटाएर माओवादी पृष्ठभूमिको कमल भट्टराईलाई स्थापित गरे त्यताबाट भात–भान्सा गरे । नारायण आचार्य आफूलाई काङ्ग्रेस भन्छन्, उनकी श्रीमती शुभेच्छा ग्यावली वीर अस्पतालमा वामपन्थी एमालेसँग आबद्ध रहेका छन् । कमल भट्टराईलाई खारेज भइसकेको ट्रेड युनियनअनुसारको नेपाल स्वास्थ्यकर्मी सङ्घको दफा लगाएर प्रतिष्ठानस्तरको प्रतिनिधि बनाएर प्रदेश नम्बर तीनको अनियमित अध्यक्ष बनाइयो । अहिले पनि दुई स्वास्थ्यकर्मी ट्रेड युनियन दर्ता भएका छन् । दुवै ट्रेड युनियनको अध्यक्ष रामजी घिमिरे नै रहेका छन् । यो अनियमितताको पराकाष्ठा हो । यसलाई नेपाल ट्रेड युनियन काङग्रेस चुप लागेर बसेको अवस्था छ ।