बग्दादीकी दिदी पनि सिरियाबाट पक्राउ

बग्दादीकी दिदी पनि सिरियाबाट पक्राउ


इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका पूर्वप्रमुख अबु बकर अल बग्दादीकी दिदीलाई उत्तरी सिरियाबाट पक्राउ गरिएको छ । केही दिनअघि मात्र अमेरिकी विशेषबलले सिरियाको इद्लिब प्रान्तमा गरेको एक सुरक्षा कारबाहीमा अल बग्दादी मारिएका थिए ।

उत्तरी सिरियाको अजाजनगर नजिकैबाट अल बग्दादीकी ६५ वर्षीया दिदी रस्मिया अवादलाई मङ्गलबार पक्राउ गरिएको टर्कीको सरकारी स्रोतले नाम नबताउने शर्तमा जानकारी दिएको एएफपी समाचार समितिले उल्लेख गरेको छ ।

हाल टर्कीको नियन्त्रणमा रहेको उक्त शहर सिरियाको अलेप्पो प्रान्तमा अवस्थित छ । अजाज नगरमा अवाद आफ्ना पति र परिवारका अन्य सदस्यसहित बस्दै आएको बताइएको छ ।

उता अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन् ।

लडाकू विमानले तालिबानलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले मङ्गलबार जानकारी दिएका हुन् ।

यस हवाई कारबाहीमा अन्य पाँच लडाकू घाइते भएका पनि जानकारी दिइएको छ । यस क्रममा सुरक्षाबल र सर्वसाधारणतर्फ भने कुनै हताहत भएको खबर प्राप्त भएको छैन ।

अफगानिस्तानको राजधानी काबुलबाट २४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय तालिबान लडाकू समूहले यस कारबाहीका विषयमा औपचारिक रुपमा कुनै टिप्पणी गरेको छैन ।