सप्तरी कलाकुञ्ज पुनर्सङ्गठित

सप्तरी कलाकुञ्ज पुनर्सङ्गठित


■ हेमशंकर सिंह, राजविराज

करिव दुई दशकअघि सप्तरीमा स्थापना भई विगत केही वर्षयता निष्क्रिय रहेको सप्तरी कलाकुञ्ज पुनः सङ्गठित भएको छ । जिल्लामा साङ्गीतिक गतिविधिमा जागरण ल्याउने तथा नयाँ कलाकारहरूलाई प्रोत्साहित गर्ने उद्देश्यका साथ कलाकुञ्ज पुनः सञ्चालनमा आएको हो ।

छठ पर्वको अवसर पारेर कलाकर्मीहरु सङ्गठित भई राजविराज नगरपालिका वडा नम्वर–७ स्थित यदुवंशी पोखरीको छठ घाटमा शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम गत शनिबार राति आयोजना गरियो ।

खरसाल यूवा समूहको समन्वयमा आयोजित कार्यक्रममा चर्चित नृत्य निर्देशक प्रेम सोनाम, निल घतानी, सुधा रत्ना, शिवशंकर यादव, रामबालक यादव लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो । सोही कार्यक्रममा वरिष्ठ पत्रकार शिवहरिप्रसाद भट्टराई, डा. शिवशंकर यादव, अधिवक्ता सुजित कुमार पोखरेल, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सङ्गीतकार शैलेन्द्र विश्वकर्मा, वीरेन्द्र सप्तरीया, प्रसिद्ध यूवा वाद्यवादक निल घतानी, पत्रकार सौरभ यादव, सुरेश कुमार शर्मा लगायतलाई सम्मान गरिएको थियो ।

सप्तरी कलाकुञ्जका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेल, वरिष्ठ सल्लाहकार सुखराम यादव लगायतले संस्थालाई थप सशक्त बनाउन सुझाव दिँदै आफुहरुले समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।