साउथ डकोटामा घातक सुई लगाएर मृत्युदण्ड



अमेरिकी राज्य साउथ डकोटामा सोमबार एक व्यक्तिलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएको छ । अमेरिकी सर्वोच्च अदालतले ६३ वर्षीय चार्ल्स राइन्सको अन्तिम अपिल खारेज गरेसँगै उनलाई मृत्युदण्ड दिइएको साउथ डकोटाका जेल अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

राइन्सले सन् १९९३ मा एउटा पसलमा कार्यरत एक मजदूरको हत्या गरेको पुष्टि भएको थियो । उनी उक्त पसलमा लुटपाटका लागि प्रवेश गरेका थिए । राइन्सका वकिलहरुले भने समलिङ्गी भएकै कारण राइन्सलाई मृत्युदण्ड दिइएको आरोप लगाउँदै आएका थिए । तर, साउथ डकोटाका महान्यायाधिवक्ताले अदालतसमक्ष राइन्सले दिएको बयानका आधारमा मृत्युदण्ड दिइएको दाबी गर्दै यौन विभेदका आधारमा अदालतले आदेश नदिएको जिकीर गरेका छन् ।

अमेरिकी निर्णयप्रति फ्रान्सका राष्ट्रपतिद्वारा दुःख व्यक्त

यसैक्रममा अमेरिकाले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट पछि हट्ने गरी मङ्गलबार संयुक्त राष्ट्रसंघसमक्ष औपचारिक रुपमा नै पत्राचार गरेपछि फ्रान्सले सो निर्णयप्रति दुःख व्यक्त गरेको छ ।

फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याँक्रोले अमेरिकाको सो निर्णयले आफूलाई दुःख लागेको मङ्गलबार चीनमा बताएका हुन् ।

चीनको औपचारिक भ्रमणका क्रममा रहेका उनले अमेरिकाको यो निर्णयपछि जलवायू परिवर्तनका क्षेत्रमा अब चीन र फ्रान्सको विशेष साझेदारिता आवश्यक रहेको धारणा पनि राखेका छन् ।

राष्ट्रपति म्याँक्रोले भने– अमेरिकाको यो निर्णयले हामीलाई निकै दुःख लागेको छ र मलाइ लाग्छ अब विश्वमा जलवायू परिवर्तन तथा जैविक विविधताको क्षेत्रमा फ्रान्स र चीनको अलग्गै साझेदारिताको आवश्यकता रहेको छ ।

चीन भ्रमणका क्रममा आफू र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच जलवायू परिवर्तनका विषयमा विशेष सम्झौता हुने पनि बताइएको छ । बुधबार द्विपक्षीय वार्ताका क्रममा हुने सो सम्झौता जलवायू र जैविक विविधताका क्षेत्रमा अपरीहार्य विषय रहेको पनि सो समाचारमा जनाइएको छ ।

यस निर्णयसम्बन्धी पत्राचार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसलाई औपचारिक रुपमै गरेका बताइएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसका प्रवक्ताले अमेरिकाले पत्र लेखेको उक्त कुराको पुष्टि गरेका छन् । उनले भनेका छन्– महासचिव गुटर्रेसले संयुक्त राज्य अमेरिकाले सन् २०१५ डिसेम्बर १२ मा गरेको पेरिस सम्झौताबाट हट्न अमेरिकाले पठाएको पत्र प्राप्त गर्नुभएको छ ।

यसअघि फ्रान्स तथा उक्त सम्झौतामा हस्ताक्षर गरेका विश्वका नेताहरुले पनि उक्त सम्झौताबाट पछि नहट्न अमेरिकालाई आग्रह गर्दै आएका थिए ।

प्रतिक्रिया