बेलायत नेपाल सीधा हवाइसेवा छिट्टै हुन सक्ने सम्भावना व्यक्त

बेलायत नेपाल सीधा हवाइसेवा छिट्टै हुन सक्ने सम्भावना व्यक्त


■ प्रकाश केसी, लण्डन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई यतिखेर लण्डनमा छन् । वर्ल्ड ट्राभल मार्किट डब्ल्यूटीएम नामक पर्यटन व्यवसायीहरूको वार्षिक प्रदर्शनीमा भाग लिन उनी तीन दिनअघि ब्रिटेन आएका हुन् । नेपालको वर्तमान अवस्था जे र जस्तो हालतमा फेसबुकमा देखाइएको छ, त्यो यथार्थपरक होइन । यी सबै गैरजिम्मेवार किसिमले सामाजिक स‌ञ्जालहरुमा हल्ला फैलाइएको देख्दा चीनले जसरी फेसबुकमाथि रोक लगाएको छ, त्यो ठीक गरेको जस्तो आफूलाई लागेको बताउने मन्त्री भट्टराईले ‘तथापि त्यसरी नेपालमा नेपाली जनताहरुको मौलिक अधिकारको हनन आफ्नो सरकारले नगर्ने’ प्रष्टिकरण पनि दिए ।

गत आइतबार बेलायतको अल्डरसटस्थित एम्पाएर हलमा गैरआवासीय नेपाली संघको बेलायत शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री भट्टराईले युरोपियन युनियनको आकाशमा नेपाली राष्ट्रिय ध्वजावाहक हवाइजहाजलाई उडाउनका लागि युरोपियन एभिएसन एजेन्सीले ६ वर्षअगाडि लगाएको प्रतिबन्धलाई हटाउनका लागि सरकार तथा सम्बन्धित निकायहरु लागिपरेको बताए ।

गैरआवासीय नेपाली स‌ंघ बेलायत शाखाकी वर्तमान अध्यक्ष श्रीमती पुनम गुरुङले बेलायती नेपालीहरुका तर्फबाट बेलायत र नेपालबीच सीधा हवाइ उडानसम्बन्धी राखेकी जिज्ञासाको प्रसङ्गलाई बोल्ने क्रममा मन्त्री भट्टराईले बताएका सो प्रतिबन्ध, नेपालमा सन् २०१२ सेप्टेम्बरमा सात जना ब्रिटिस पर्यटकहरु सहित १९ जनाको ज्यान जानेगरी सीता एयरको विमान दुर्घटनाग्रस्त भएपछि सन् २०१३ मा युरोपेली संघको युरोपीयन एभिएसन एजेन्सीले नेपाली विमान सेवाहरूलाई प्रतिबन्ध लगाएको थियो। ईयूको हवाइ सेफ्टीको मापनमा पुग्न नसकेकोले नेपालले युनियनको आकाशमा आफ्ना हवाइजहाज उडाउन असमर्थ रहेको हो ।

मन्त्री भट्टराईका अनुसार युरोपीयन एभिएसन एजेन्सीले अहिले आफ्नो गल्ती महशुस गरेको र निकट भविष्यमै नेपाली राष्ट्रिय ध्वजावाहक हवाइजहाजले युरोपसँग सीधा उडान गर्न पाउने आफ्नो सरकारले आशा राखिएको छ ।नेपाली विमानले विगत १७ वर्षदेखि युरोपियन आकाशमा उडान गरेका छैनन्।

नेपाल पर्यटन वर्ष २०२० को सन्दर्भमा उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका राष्ट्रिय गौरवका आयोजना सो‌चेभन्दा तीव्र गतिमा अघि बढेको बताएका छन्। फेसबुकमा खत्तम देखाइने नेपाल वास्तवमा त्यसको विपरीत भएको बताउँदै मन्त्री भट्टराईले भने, ‘पोखरा क्षेत्रीय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत राष्ट्रिय गौरवका आयोजनाको निर्माण कार्य उत्साहजनक रुपमा अघि बढेको छ।’

पर्यटकहरुको चापलाई काठमाडौंबाट मात्र धान्न नसकिने हुँदा पोखरा र भैरहवामा तयार गरिइँदैका एअरपोर्टले निकै ठूलो राहत त पक्कै नै दिनेछन् तर काठमाडौंको चापलाई मत्थर पार्न भने निजगढमा अर्को विमानस्थल नबनाई नहुने भएकोले सोबारे गम्भीरताका साथ सरकार लागेको मन्तव्यको क्रममाउनले बताए ।

मन्त्री भट्टराईले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य आउँदो डिसेम्बरमा सम्पन्न गरी मार्च महिनादेखि नियमित रुपमा सञ्चालनमा आउने र अहिलकै गतिमा निर्माणको काम अघि बढे पोखरा क्षेत्रीय विमानस्थल सन् २०२० को डिसेम्वरसम्म सञ्चालनमा आउने जानकारी पनि सोही कार्यक्रममा गराए ।

मन्त्री भट्टराईले निजगढ विमानस्थलको निर्माणको समेत कार्यअघि बढिसकेको बताए। निजगढ विमानस्थल निर्माणका लागि स्वीजरल्यान्डको जुरिच विमानस्थलले चासो देखाएको छ’ उनले अगाडि भने, ‘निजगढ विमानस्थल पब्लिक प्राइभेट पाटर्नरसीप (पीपीपए) मोडलमा हामीले लगानी खोजिरहका छौँ ।’ उक्त मोडलमा लगानी सम्भव नभए सरकार आफै लगानी गर्ने उनले जानकारी गराए।

मन्त्री भट्टराईले भने, ‘राजनीतिक परिवर्तनपछि नेपाल नयाँ गन्तव्यबाट अघि बढेको छ। विगत सात दशक नेपालको राजनैतिक गन्तव्य पहिल्याउनमा बिते पनि मुलुक विकासको गतिमा अघि बढेको छ। लगानीका लागि नेपालमा उदार नीति बनिसकेकाले ढुक्का भएर लगानी गर्नुस्।’

कार्यक्रमका अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले नेपालको आर्थिक, सामाजिक विकास र बेलायतस्थित नेपाली समुदायको हकहितको लागि काम गर्ने प्रतिबद्धता जनाए। उनले नेपाल भ्रमण वर्ष २०२० मा बेलायतबाट मात्र १ लाख पर्यटक नेपाल भित्र्याउने महत्वकांक्षी योजना पनि सोही कार्यक्रममा सुनाए । मन्त्री भट्टराईले भूतपूर्व गुर्खा सैनिकहरुको समस्याको प्रसङ्गमा दूतावासको तर्फबाट खेलेको भूमिकालाई लक्षित गर्दै राजदूत सुवेदीको खुलेर प्रशंसा गरेका थिए ।