एनआरएन कोरियाकी निवर्तमान अध्यक्षमाथि आर्थिक पारदर्शीता नगरेको आरोप

एनआरएन कोरियाकी निवर्तमान अध्यक्षमाथि आर्थिक पारदर्शीता नगरेको आरोप


■ अर्जुन बराल, सौल

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (दक्षिण कोरिया)को सातौँ कार्यसमितिका अध्यक्ष यज्ञराज सुवेदीले लामो समयसम्म पनि संस्थाको हिसाबकिताव पारदर्शी तरिकाले नबुझाएकाले आर्थिक पारदर्शिताका लागि ढिलो गरेको खण्डमा आफू कानुनी बाटो अवलम्बन गरी संस्थाको रकमलाई पारदर्शी बनाउन बाध्य हुने भन्दै जतिसक्दो छिटो हिसाब बुझाउनका लागि निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङलाई समयसीमा दिएको प्रमाण प्राप्त भएको छ ।

भएको के छ ?

विभिन्न कारणले दक्षिण कोरियामा रहेका नेपालीहरूका लागि अस्थायी बसोबास गर्ने गरी गैरआवासीय नेपाली संघ दक्षिण कोरिया अभिभावक रहने गरी उसकै सक्रियतामा स्थापित नेपाल हाउस स्थापनाको सातौँ वर्षसम्म आइपुग्दा पुर्ण विकलाङ्गसरह रहेकै अवस्थामा निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले पूर्ण रूपमा सञ्चालन गर्नेगरी ३,१५,००,००० कोरियन वन पैसासहित जिम्मेवार लिएता पनि विविध कारणले सौलको क्यापिटल सिटीमा रहेको नेपाल हाउस लक्ष्मी गुरुङकै कार्यकालमा दुई स्थान परिवर्तन गर्दासम्म आइसीयुमा छटपटिएको अबस्था जस्तै छ, सम्भवत बाँच्ने सम्भावना छैन भने यस दुई वर्षको अवधिमा नेपाल हाउसकै भाडा, मर्मत, स्थान परिवर्तनका नाममा ५,७३,१३,१३० (पाच करोड त्रिहत्तर लाख तेह्र हजार एक सय तीस) कोरियन वन अर्थात नेपाली पचास लाख भन्दा बढी रकम खर्च देखाइएको छ । जुन खर्चलाई नयाँ कार्यसमितिले अस्वभाविक बुझेको छ ।

आईसीसी सदस्य शुल्क ब्यक्तिले तिर्नुपर्नेमा संस्थाले तिर्ने गरी केन्द्रमा ११,००,००० कोरियन वन रकमसहित अर्को केन्द्रलाई बुझाएको भन्ने शीर्षकमै ११,००,००० (एघारलाख) कोरियनवन निकासीसहित एनआरएनएलाई कोरियामा नै दर्ता गर्ने गरी संस्था दर्ताको लागि भन्ने शीर्षकमा ३०,००,००० (तीस लाख) कोरियन वन रकम खर्च देखाइएको भए तापनि कानुनी प्रक्रियाका लागि एक पैसा नबुझएको नयाँ कार्यसमितिको आरोपसँगै निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङले घुमाउरो पाराले पूरै तीस लाख कोरियन वन फिर्ता आउने बताएकी छिन् ।

नारामा मजदुरमैत्री एनआरएन बताए पनि एनआरएनए कोरियाकी निवर्तमान अध्यक्ष गुरुङले आफ्नो दुई वर्षको कार्यकालमा संस्थाको तर्फबाट एक नेपाली मजदुरलाई मात्र तीन लाख कोरियन वन आर्थिक सहयोग गरेको देखाइएको बाहेक अरु छैन । उनले मजदुरका लागि आफ्नै ब्यक्तिगत खर्चमा धेरै सहयोग गरेको बताउँदै गर्दा राजदुत, पत्रकार अनि कोरियामा आउने मन्त्री, नेतालगायतका नाममा कुल ३७,९६,९०० (सैतीस लाख छयानब्बे हजार नौ सय) कोरियन वन रकमलाई भोजभतेरका नाममा गरिएको अनावश्यक खर्चका रुपमा नयाँ कार्यसमितिले मनोमानी भएको बुझेको छ ।

निर्वाचनको मुखमा विविध कारण देखाई नेपालीको घर नामबाट परिचित नेपाल हाउसलाई स्थान परिवर्तन गर्दा नेपाली असनबजार नामबाट परिचित दोङदेमुनमै निवर्तमान अध्यक्षको पूजा रेष्टुरेन्ट रहेकै भवनमा सारि नेपाल हाउस मर्मत शीर्षकमा गरेको खर्च रकम २२,००,००० (बाईस लाख) कोरियन वनलाई नेपाल हाउसका नाममा आफनै रेष्टुरेन्ट मर्मत गरेर खर्च देखाईएको नयाँ कार्यसमितिले आरोप लगाएको छ भने एनआरएनए कोरियाभित्र आर्थिक अनियमितताका विषयमा कोरियाको नेपाली समाजलाई नजिकबाट बुझेका एकजना मजदुर बैरागी माइलाले फेसबुकमार्फत यस विषयलाई लुकाउन नहुने भन्दै केही समय अघिदेखि नै आक्रोस पोख्दै आएका थिए ।

त्यस्तै कोरियामा रहेका नेपाली संघ–संस्थाले गर्ने कार्यक्रममा सहयोगका नाममा एनआरएनए संस्थाको कोषबाट बाडिएको ४१,३१,००० (एकचालीस लाख एकतीस हजार) कोरियन वनलाई सहयोग गर्नुको कारण उल्लेख नभएकाले जथाभावी गरिएको खर्चका रुपमा विचार गर्नुपर्ने शीर्षकमा नयाँ कार्यसमितिले महत्वपूर्ण बुँदाको रुपमा राखेको छ । त्यस्तै अझ चाखलाग्दो कुरा त निवर्तमान कार्यसमितिका कोषाध्यक्ष आलोक बानियाँको खातामा ५५,००,००० (पचपन्न लाख) कोरियन वन रहेको विवरणसहितको आर्थिक प्रतिवेदन निवर्तमान कार्यसमितिले बाहिर ल्याए पनि स्वयम् गुरुङले पचास लाख मात्र रहेको बताएकी छन् जहाँ अध्यक्षको भनाई र आर्थिक प्रतिवेदन दुवैका अर्थमा पाँच लाख कोरियन वन फरक परेर बाझिएका छन् भने कोषाध्यक्ष बानियाँ अवैधानिक कारोबारमा संलग्न रहेको आधारमा कोरियन प्रहरीले पक्राउ गरी डिपोर्ट गरिसकेको छ । स्मरण रहोस्, सातौँ अधिवेशनमा कोषाध्यक्षको खाताको रकम ६ महिनाभित्र आफुले उठाउने गरी अध्यक्ष गुरुङले कागजी सही गरेको भनेर निर्वाचन मण्डलले जानकारी गराएको छ ।

एनआरएनए दक्षिण कोरियाकी निवर्तमान अध्यक्ष लक्ष्मी गुरुङको छैठौ कार्यसमितिले आफ्नो कार्यकालमा कुल १२,८८,४२,५०० (बाह्र करोड अठासी लाख बयालीस हजार पाँच सय) कोरियन वन आम्दानी देखाएता पनि ११,१३,४१,४४५ (एघार करोड तेह्र लाख एकचालीस हजार चार सय पैतालीस) कोरियन वन खर्च सातौ अधिवेशनबाट संकलित रकमबाट गरेको प्रष्ट देखिएको छ साथै १,७५,०१,००० (एक करोड पचहत्तर लाख एक हजार) कोरियन वन बचत भएको देखाए तापनि कानुनी प्रक्रियामा खर्च नभएको र कोषाध्यक्षको खातामा फरक परेको रकम समेत गरी जोड्दा दुई करोड कोरियन वनभन्दा बढी हुनुपर्नेमा संस्थाको खातामा एक करोड कोरियन वनको हाराहारीमा रहेको बुझिएको छ भने छैठौँ कार्यसमितिभित्रैबाट अध्यक्ष गुरुङले अधिकांश निर्णय पदमा नरहेका ब्यक्तिबाट सल्लाह गरेर जाने गर्दा यस्तो अवस्था आएको जानकारी दिएका छन् जुन आश्चर्यलाग्दो विषय छ ।

नयाँ कार्यसमितिले ७,७०,४०,२३० (सात करोड सत्तरी लाख चालीस हजार दुई सय तीस) कोरियन वन अर्थात सत्तरी लाख नेपाली रुपैयाँ बराबरको हिसाबप्रति चित्तबुझ्दो प्रमाणको अभावसहित कुन मितिमा, कसरी कुन प्रक्रियाबाट रकम निकासी गरिएको त्यो प्रष्ट नभएकाले हिसाब नबुझ्ने र संस्थाको नाममा हुने अनावश्यक खर्चसमेत रोक्ने प्रतिबद्धतासहित आफ्नो कार्यकालमा हुने खर्चलाई पारदर्शी बनाउन भन्दै संस्थाका पूर्वउपाध्यक्ष दिनेश हिराचन संयोजक रहने गरी लेखासमिति बनाएको संस्थाका महासचिवले जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ साथै आफ्नो कार्यकालमा भएका खर्चका के–कस्ता शीर्षकमा नयाँ कार्यसमितिले चित्त नबुझाएको हो त्यसको जानकारी प्राप्त हुनासाथ आफ्नो कार्यसमिति बीचमा छलफल गरेर जानकारी दिने निवर्तमान अध्यक्ष गुरुङले बताएकी छिन् ।

त्यस्तै, एनआरएनए कोरियाको छैठौँ कार्यसमितिले संस्थालाई तिर्नुपर्ने लेबी नतिरेका विभिन्न संस्थाका बिल्ला भिरेका वरिष्ठहरू लगायत आर्थिक पाटोलाई मजबुत बनाउनका लागि गरिएको च्यारिटी डिनर कार्यक्रममा महँगा–महँगा वाइन खाएर बोलिएको आर्थिक सहयोग रकम कस–कसले उपलब्ध गरेका छैनन् तिनीहरू सबैको नाम छिट्टै बाहिर ल्याउने बताएको छ ।