अष्ट्रेलिया टी–२० विश्वकप क्रिकेटमा १६ राष्ट्र

अष्ट्रेलिया टी–२० विश्वकप क्रिकेटमा १६ राष्ट्र


सन २०२० मा अष्ट्रेलियामा सञ्चालन हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका लागि १६ टीम छनोट भएका छन् । विश्वकपका लागि आयरल्यान्ड, नामीविया, नेदरल्यान्ड, ओमान, पपुवा न्यू गीनी र स्कटल्यान्डले छनोट चरण पार गरेर अन्तिम चरणमा प्रवेश गरेका हुन् ।

अन्तिम चरणमा छनोट भएका यी ६ राष्ट्र विश्वकपको बेग्लाबेग्लै दुई समुहमा रहेका श्रीलंका र बंगलादेशसँग पहिलो राउन्डमा भीडन्त गर्नेछन् । यी आठ टीमबाट चार टीम सुपर १२ मा पुग्नेछन् । प्रतियोगिता आउँदो वर्षको अक्टुबर महिनादेखि सञ्चालन हुनेछ ।

पहिलो राउन्डको ग्रुप ‘ए’ मा श्रीलंका, पपुवा न्यू गिनी, आयरल्यान्ड र ओमानको भीडन्त हुनेछ । यी खेलहरु १८ देखि २२ अक्टुबरसम्म जिलान्ग शहरमा हुनेछन् । त्यस्तै गु्रप ‘बी’मा बंगलादेश, नेदरल्यान्ड, नामीविया र स्कटल्यान्डबीच भीडन्त हुनेछ । यी खेलहरु १९ देखि २३ अक्टुबरसम्म होबार्टमा सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो खेल श्रीलंका र आयरल्यान्डबीच कार्दिनिया पार्क स्टेडियम हुनेछ ।

पहिलो राउन्डको समापनसँगै ग्रुप ‘ए’को शिर्ष टीम र ग्रुप ‘बी’को दोश्रो नम्वरको टीम पाकिस्तान, अष्टे«लिया, न्यूजील्यान्ड र वेस्टइन्डिजसंगै गु्रप– १ मा सहभागि हुनेछन् । त्यस्तै गु्रप ‘बी’को शीर्ष टीम र ग्रुप ‘ए’ को दोश्रो नम्वरको टीम भारत, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तानसँग गु्रप–२ मा रहने छन् ।

यसपछि सुपर १२ टीमकाबीच टी–२० विश्वकपको भीडन्त शुरु हुनेछ । आफ्नो समुहका दुई–दुई शीर्ष टीम सेमिफाइनलमा प्रवेश गर्नेछन् । विश्वकपको फाइनल खेल १५ नोभेम्वर २०२० मा मेलबर्न खेलिने छ ।