नेकपाले टुंगो लगायो सातै प्रदेशका प्रमुखको नाम, सबै नेकपानिकट

नेकपाले टुंगो लगायो सातै प्रदेशका प्रमुखको नाम, सबै नेकपानिकट


सत्तारुढ दल नेकपाको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम टुंगो लगाएको छ ।

सोमबार बिहानदेखि बसेको उक्त बैठकले सातवटै प्रदेशका लागि प्रमुखको नाम टुंगो लगाएको हो ।

नेकपाले सचिवालय बैठकले छनोट गरेका नामावलीलाई मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिसका लागि पेस गरेपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक व्यवस्था छ । सातै प्रदेशका लागि सिफारिस भएका सबै नामावली नेकपा निकट हुन् ।

देउवा सरकारको पालामा नियुक्त भएका यसअघिका सातै प्रदेशका प्रदेश प्रमुखलाई मन्त्रिपरिषद्को सिफारिसमा हिजो (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीले बर्खास्त गरेकी थिइन् । प्रदेश प्रमुखहरूको कार्यकाल पाँच वर्ष हुने संवैधानिक व्यवस्था भए पनि दुई वर्ष कार्यकाल बाँकी हुँदै उनीहरूलाई बर्खास्त गरिएको हो ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रदेश प्रमुखहरूलाई समय अगावै बर्खास्त गरिएको भन्दै सरकारको आलोचना गरेको छ ।

यसरी एकाएक बिना कारण सातै प्रदेशका प्रमुखलाई बर्खास्त गर्नु र बर्खास्त गरेकै भोलिपल्ट सत्तारुढ नेकपानिकटलाई नियुक्तिको सिफारिस गर्नुले आफ्ना मान्छेलाई भर्ती गर्न बर्खास्त गरिएको स्पष्ट भएको छ । यसअघि सरकारइतर पार्टीले दुईतिहाइ कम्युनिस्टको सरकारले देशलाई कम्युनिस्टमय बनाउँदै आएको आरोपलाई पनि यसले पुष्टि गरेको छ ।

कुन प्रदेशका लागि को सिफारिस ?

प्रदेश १ : विष्णु प्रसाईं (झापा)
प्रदेश २ : धर्मनाथ यादव (सिरहा)
प्रदेश ३ : अमिक शेरचन (चितवन)
गण्डकी प्रदेश : सोमनाथ प्यासी (कास्की)
प्रदेश ५ : तिलक परियार (बाँके)
कर्णाली प्रदेश : शर्मिला त्रिपाठी (काठमाडौं)
सुदूरपश्चिम प्रदेश : गोविन्द कलौनी (डडेल्धुरा)