कास्की उपनिर्वाचनका लागि सपा र राप्रपाको उम्मेदवार तय

कास्की उपनिर्वाचनका लागि सपा र राप्रपाको उम्मेदवार तय


कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र ले उम्मेदवार चयन गरेका छन् ।

सत्तारुढ दल समाजवादीले पार्टीका प्रदेश कमिटीका सदस्य इञ्जिनीयर धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उम्मेदवार गुरुङ भूतपूर्व सैनिकसमेत रहेका सो पार्टीका कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिए ।

त्यसैगरी राप्रपाले पार्टीका केन्द्रीय सदस्य रोमबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका प्रचार विभाग सदस्य सूर्य बाँस्तोलाले जनाएका छन् ।

उपनिर्वाचनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले दिवंगत रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ भने नेपाली काङ्ग्रेसले अहिलेसम्म उम्मेदवार चयन गरिसकेको छैन ।

काङ्ग्रेसले जिल्लाबाट उम्मेदवारका आकाङ्क्षी रहेका १६ जनाको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । उम्मेदवार चयनका लागि सो पार्टीका पदाधिकारीहरुलाई केन्द्रीय समितिको बैठकले जिम्मेवारी सम्पिएको छ ।

उपनिर्वाचनका लागि कास्की जिल्ला निर्वाचन कार्यालयले ७१ हजार ८७१ मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ । जसमा पुरुष ३३ हजार १०६ र महिला ३८ हजार ७६४ छन् । अघिल्लो निर्वाचनमा ७० हजार ६५१ मतदाता रहेकोमा यसपटक एक हजार २२० जना मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ । राससका अनुसार निर्वाचनका लागि ३२ निर्वाचनस्थल र ८२ वटा केन्द्र तोकिएका छन् । आगामी कात्तिक २१ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको छ ।