अन्ततः कास्की २ मा नेकपाको उम्मेदवार विद्या नै

अन्ततः कास्की २ मा नेकपाको उम्मेदवार विद्या नै


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य रिक्त पदको उपनिर्वाचनको तयारीका लागि चार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन नेकपाले उम्मेदवार तय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (१७ कात्तिक) साँझ बसेको नेकपा सचिवालयको बैठकले कास्की निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभाका लागि विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहनुभएका रवीन्द्रप्रसाद अधिकारीको निधन भएपछि खाली भएका उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । उम्मेदवारमा सिफारिस हुनुभएका भट्टराई स्व. अधिकारीको धर्मपत्नी हुनुहुन्छ । नेकपाले जिल्ला कमिटी र प्रदेश कमिटीको सिफारिसका आधारमा उम्मेदवार चयन गरेको हो ।

यस्तै प्रदेशसभा सदस्यका लागि दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वली र भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाङ ३ खबाट निर्वाचित उत्तरकुमार वलीको दुर्घटनामा निधनभएपछि उहाँकी धर्मपत्नी विमलालाई पार्टीले उम्मेदवार बनाएको हो । भक्तपुर १ क मा उम्मेदवार सिफारिस हुनुभएका ढकाल नेकपा भक्तपुरको सचिव हुनुहुन्छ ।

नेकपाले बाग्लुङ २ ख मा भने वाम गठबन्धनलाई कायम राख्दै राष्ट्रिय जनमोर्चाको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । नेकपा र जनमोर्चाबीच चुनावी तालमेल गर्ने विषयमा यसअघि नै सहमति भइसकेको छ ।

यसैगरी धरान उपमहानगरपालिकाका प्रमुखमा प्रकाश राईलाई उम्मेदवार बनाउने निर्णय बैठकले गरेको छ । जिल्ला कमिटी र प्रदेश कमिटीले एक महिलासहित कम्तीमा तीन जना उम्मेदवार चयन गरेर पठाएको थियो । सोही आधारमा योग्य उम्मेदवार चयन गरिएको हो ।

अन्य गाउँपालिका र नगरपालिका तथा महानगरका वडामा हुने उपनिर्वाचनका लागि निर्वाचन क्षेत्रीय कमिटी र जिल्ला कमिटीको सिफारिसका आधारमा प्रदेश कमिटीले निर्णय गर्ने गरी जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि नेपाली काङ्ग्रेस, सङ्घीय समाजवादी पार्टीलगायतले पनि उम्मेदवार चयन गरिसकेका छन् । उपनिर्वाचनलाई जनमत परीक्षणका रुपमा समेत लिइएको छ ।

निर्वाचन आयोगका अनुसार कास्की, भक्तपुर, बाग्लुङ र दाङमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय आज स्थापना भएको छ । स्थानीय तहको मात्र निर्वाचन हुने ३३ जिल्लामा भने आगामी बुधबार मुख्य निर्वाचन र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।

उपनिर्वाचनका लागि ३७ जिल्लामा ४८ वटा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ । प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगरपालिका प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको छ ।

rss